इलाम, साउन २० । माई नगरपालिकामा वडा–वडामा सामाजिक सुरक्षा भत्ता वितरण कार्य सम्पन्न भएको छ ।

वडा–वडावाट सामाजिक सुरक्षा भत्ता प्राप्त गरेपछि बृद्धबृद्धाले खुशी हुँदै कर्मचारी र जनप्रतिनिधिलाई धन्यवाद दिएका छन्।
विगतमा लामो बाटो र धेरै समय लगाएर सानिमा बैंक माई शाखामा गई भत्ता बुझेका सेवाग्राही यस पटक बंैकका कर्मचारीसहित नगरपालिकाका कर्मचारी वडा–वडामा भत्ता वितरण गर्न पुगेका थिए। वडा अध्यक्ष, सदस्य, वडा सचिव, नेपाल प्रहरी र कर्मचारी सम्मिलित टोलीले विनाझन्झट भत्ता वितरण गरेको माई नगरपालिका सामाजिक सुरक्षा तथा पन्जिकरण शाखाका होमनाथ अधिकारीले बताए । गत साउन ८ गतेदेखि माई नगरपालिकाका २७ सय ३४ जना लाभग्राहीलाई वडा–वडामा भत्ता वितरण गर्ने लक्ष्य राखिएकोमा प्रतिकुल मौसम तथा अन्य कारणबाट १४ सय २१ जनाले १ करोड ४९ लाख ९४ हजार ६ सय रुपैयाँ बुझेको सानिमा बैंक माई शाखाका सहायक प्रबन्धक रोशन पौड्यालले जानकारी दिए।

नवनिर्वाचित नगर प्रमुख खम्बासिंह लिम्बूसहित अन्य जनप्रतिनिधिको चुनावी एजेन्डा बमोजिम यस पटकदेखि वडा–वडामा सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको हो।
भत्ता प्राप्त गर्नेमा वडा नम्बर –१ मा जम्मा लाभग्राहीको संख्या २७३ मध्ये १६८ जनालाई १९ लाख ८७ हजार ९ सय रुपैयाँ, वडा नम्बर–२मा लाभग्राहीको संख्या २७५ मध्ये १३३ जनालाई १५ लाख २ हजार रुपैयाँ, वडा नम्बर –३ मा लाभग्राहीको संख्या –२०४ मध्ये ८५ जनालाई ९ लाख ३१ हजार रुपैयाँ, वडा नम्बर –४ मा लाभग्राहीको संख्या – ३०८ मध्ये१९३ जनालाई २२ लाख ५१ हजार २ सय रुपैयाँ, वडा नम्बर –५ मा लाभग्राहीको संख्या – ३२४ मध्ये १०५ जनालाई ११ लाख ४७ हजार ५ सय रुपैयाँ वितरण गरिएको थियो।

त्यस्तै वडा नम्बर –६ मा लाभग्राहीको संख्या – २८३ मध्ये १९५ जनालाई २२ लाख ५ सय रुपैयाँ , वडा नं –७ मा लाभग्राहीको संख्या – २४२ मध्ये १४२ जनालाई १७ लाख २१ हजार ५ सय रुपैयाँ, वडा नंवर –८ मा लाभग्राहीको संख्या–३६६ मध्ये १६६ जनालाई १८ लाख ७६ हजार ५ सय रुपैयाँ,वडा नम्बर –९ मा लाभग्राहीको संख्या –२२७ मध्ये १३० जनालाई १४ लाख ८३ हजार ५ सय रुपैयाँ र वडा नंवर –१० मा लाभग्राहीको संख्या – २३२ मध्ये १०४ जनालाई १२ लाख ४३ हजार रुपैयाँ वितरण गरिएको सामाजिक सुरक्षा तथा पंञ्जिकरण शाखा एमआईएस फिल्ड सहायक सपना आचार्य दहालले बताइन् ।