झापा , साउन २० । मोरङको लेटाङ नगरपालिका-१ साक्फाराकीमा एकजना वृद्धाको शव खोला किनारमा फेला परेको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार रतुवा खोलाको किनारमा ६१ वर्षीया मनमाया मगरको शव बिहीबार साँझ भेटिएको हो । एक साताअघिदेखि घरबाटै बेपत्ता भएकी उनको शव सडेर दुर्गन्धित र किरा परेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मानमाया साउन १३ गतेदेखि घरैबाट बेपत्ता भएकी थिइन् । उनी बोल्न र सुन्न सक्दिन थिइन्। त्यसअघि पनि प्राय घर छाडेर हिँडिरहने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पछिल्लो पटक बेपत्ता भएपछि खोजी गर्ने क्रममा साँझ ६ः२५ बजेतिर खोलाको किनारमा शव फेला परेको हो । सडेको शव पोस्टमार्टमसमेत गर्न सक्ने अवस्थाको थिएन । पोस्टमार्टम गर्न नसकेपछि कानूनी प्रक्रिया पूरा गरेर स्थानीय जनप्रतिनिधिको रहोवरमा अन्त्येष्टिका लागि परिवारलाई जिम्मा लगाएर पठाइएको जानकारी प्रहरीले दिएको छ । प्रहरीले वृद्धाको मृत्युको कारण खुल्न नसकेको जनाउँदै खोलाले बगाएर ज्यान गएको हुनसक्ने अनुमान गरेको छ । घटनाको अनुसन्धान भने जारी राखिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्