झापा, साउन २० । असमर्थलाई निःशुल्क कानूनी सहयोग गर्न संचालित एकीकृत कानूनी सहायता कार्यक्रम त्यति प्रभावकारी नभएको पाइएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रदेश नं १ अन्तर्गत न्यायमा पहँुच कार्यक्रम (एटुजे परियोजना)द्वारा शुक्रबारदेखि बिर्तामोडमा आयोजित एकीकृत कानूनी सहायताको अनुगमन तथा प्रतिवेदन प्रणाली विषयक अन्तरक्रिया कार्यशाला गोष्ठीमा त्यस्तो बताइयो । सरकारले असमर्थ पक्षका लागि कानूनी अधिकारको व्यवस्था गरेपनि लक्षित व्यक्तिले त्यो अधिकार उपभोग गर्न नसकिरहेको कार्यक्रमका सहभागीहरुले बताए ।

कार्यक्रममा एटुजेका कार्यक्रम निर्देशक फणिन्द्र गौतमले सरकारले निःशुल्क कानूनी सहायताका लागि खर्च गरिरहेको भएपनि त्यति प्रभावकारी नदेखिएको बताए । उनका अनुसार केही वर्षअघि गरिएको सर्वेक्षण अनुसार ८८ प्रतिशतलाई निःशुल्क कानूनी सहायताका बारेमा जानकारी नै थिएन । सेवाको सीमितता हुँदाहुँदै जसका लागि कार्यक्रम ल्याइएको हो उसलाई जानकारी हुनुपर्नेमा उनले जोड दिए । ‘सरकार र अदालतले खर्च गरिरहेको छ , प्रदेश सरकारले पनि खर्च गरिरहेको छ ’उनले भने ,‘त्यति हुँदाहुँदै पनि प्रभावकारी छैन , एकीकृत तथ्यांक छैन ,जेजति सेवा दिएका छौं , त्यसको रिपोर्टिङ भएको छैन ।’ अधिकार सिर्जना गरेर मात्र हुँदैन अधिकार प्रदान गर्न सक्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं १ का प्रमुख सचिव विनोदप्रकाश सिंहले कानूनमा पहुँचसंगै प्रभावकारिता पनि त्यतिकै आबश्यक रहेको बताए । उनले एकीकृत कानूनी सहायता कार्यक्रमअन्तर्गत विभिन्न १४ वटा क्रियाकलापहरु संचालन गरिएको जानकारी दिए । उनका अनुसार त्यसअन्तर्गत कानूनी सहायता , सामाजिक सहायतालगायत छन् । कार्यक्रममा नेपाल बार एशोसिएसनकी महासचिव अन्जिता खनालले निःशुल्क कानूनी सहायता कार्यक्रम देशका ४८ जिल्लामा लागू भएको जानकारी दिँदै वैतनिक कानून व्यवसायीहरुलाई व्यवस्थापन गर्न जरुरी रहेको बताइन् । निःशुल्क कानूनी सहायता प्रदान गर्न प्रत्येक जिल्लामा वैतनिक कानून व्यवसायीको व्यवस्था गरिएको छ ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्रदेश नं १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कानून सचिव किशोरकुमार चौधरीले निःशुल्क कानूनी सहायता कार्यक्रममा समस्या र चुनौती पनि रहेको बताए । कार्यक्रममा प्रदेश नं १ का १२ जिल्ला र मधेस प्रदेशका ४ जिल्लाका वैतनिक कानून व्यवसायी , कानून व्यवसायी , प्रशासकलगायतको सहभागिता रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्