झापा, साउन २१ । साहित्यकार भवानी क्षेत्रीद्वारा लिखित ‘ढुङ्गा,माटो र म’ कविता संग्र्रहको विमोचन गरिएको छ ।

बिर्तामोडस्थित जयन्द्रप्रसाद प्रसाईं साहित्य सेवा कोषको सभाहलमा प्रगतिशील लेखक संघ झापाको आयोजनामा भएको कार्यक्रममा सो कृतिको विमोचन गरिएको हो ।
प्रगतिशील लेखक संघ झापाका अध्यक्ष लिलाप्रसाद अधिकारीको अध्यक्षता तथा प्रगतिशील लेखक संघकी पूर्व केन्द्रीय उपाध्यक्ष एवम् साहित्यकार मिश्र बैजन्तीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रगतिशील लेखक संघ प्रदेश नंं. १ का अध्यक्ष तथा बेलवारी साहित्य प्रतिष्ठानका अध्यक्ष तीला लेकाली, प्राज्ञ सुभद्रा भट्टराई, सिक्किमेली स्रष्टा राजन शिवाकोटी, वरिष्ठ अधिवक्ता तथा स्रष्टा लीला उदासी , प्रगति लेखक संघका केन्द्रीय सदस्य राजेन्द्र संग्रौलाको बिशेष आतिथ्य रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि तथा विशेष अतिथिहरुले कृतिको लोकार्पण गरेका हुन् । लोकार्पित कृतिको परिचयात्मक चर्चा समीक्षकद्वय शारदा शर्मा र होम सुवेदीले गरेका थिए ।कार्यक्रममा प्रमुख अतिथि मिश्र बैजन्ती,विशिष्ट अतिथिहरु तीला लेकाली, लीला उदासी, सुभद्रा भट्टराई, राजन शिवाकोटी, राजेन्द्र संग्रौला, पुण्यप्रसाद खरेलले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा पुण्यप्रसाद खरेलले लोकार्पित कृतिबाट ‘ओ ओसामा विन लादेन !’ , नमुना निरौला दाहालले ‘ए मन !’ , देवीचरण भण्डारीले ‘ आमा’ ,लतिका जोशीले ‘बाटो’, सुमित्रा वाङ्देन चेलीले ‘आमा र आमाहरु’ , खगिन्द्रा खुसीले ‘फूलमाया’, मायामितु नेउपानेले ‘सिलगुडीबाट’ , तीला लेकालीले ‘दुबो हुँ म’ , विवश बलिभद्र कोईरालाले ‘उपहार’ र हरिप्रसाद नेउपानेले ‘म नेपाली हुँ’ शीर्षकको कविता वाचन गरेका थिए । आरती पोखरेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन विन्दु दाहाल मुकदर्शकले गरेकी थिइन् । ।कार्यक्रममा झापा,मोरङ , इलाम र भारत सिक्किम तथा सिलगुडीका साहित्यकारहरुको उपस्थिति रहेको थियो।