बिर्तामोड, साउन २३ । आगामी भदौ १० गते प्रदर्शन मिति तोकेको फिल्म ‘प्रकाश’को प्रोमोशनका लागि कलाकारको टोली झापा आइपुगेको छ ।

प्रदर्शनको अन्तिम तयारीमा रहेको नेपाली कथानक चलचित्र ‘प्रकाश’ नेपाली समाजको यथार्थता भएको कलाकारले बताएका छन् । उक्त चलचित्रको प्रवद्र्धनका लागि आइतबार झापा आएका कलाकारहरुले चलचित्रले नेपाली समाजको यथार्थतालाई देखाउन खोजेको बताए ।

चलचित्रमा जुम्लाको गरिब परिवारको विपन्नतामा हुर्केका एक सदस्य प्रकाशको शिक्षक बन्ने सपना र त्यससँग उनको सपना पूरा गर्न जोडिएका विभिन्न घटनाक्रमलाई प्रस्तुत गर्न खोजिएको छ । आफ्नो सपना पूरा गर्न गर्नुपर्ने विविध संघर्षको कथालाई चलचित्रले देखाउन खोजेको बताउँदै उनले आफूलाई प्रकाशले कलाकार बनाएको उल्लेख गरे। प्रकाशमा नायक प्रदीप खड्कासँगै नायिका दीया मास्केको मुख्य अभिनय छ ।

दिनेश राउतको निर्देशन र विकास सुवेदीको लेखन रहेको फिल्मले माओवादी युद्धमा सहभागी बेपत्ता परिवारको कथा देखाउँछ । जहाँ आमा र छोराको इमोशन प्रस्तुत गरिएको छ । समाज, राजनीति, पारिवारिक द्वन्द्वकै सेरोफेरोमा ‘प्रकाश’ को कथा र यात्रा छ । प्रोमोसनका क्रममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नायक खड्काले प्रकाश फिल्ममा आफूले नयाँपन दिन खोजेको बताए । उनले आफ्नो कलाकारितामा नयाँ जन्म भएको बताए । सिस्टमको विरुद्धमा शिक्षा र जनचेतना जगाउनका लागि प्रकाशले प्रकाश छर्ने काम गरेको उनको भनाई छ ।

त्यस्तै नायिका दीया मास्केले प्रकाश फिल्ममा सीताको भूमिका आफ्नो जीवनकै महत्वपूर्ण रहेको बताइन् । उनले प्रदीपको आमा बनेर चारित्रिक अभिनेतृको रुपमा अभिनय गरेको जानकारी दिइन् ।‘सबै कुरा भनेर साध्य छैन प्रकाश हेरेपछि मात्र थाहा हुन्छ’ उनले भनिन् । कार्यक्रममा कलाकार रेनु योगीले पनि आफ्नो भूमिकाका बारेमा बताएकी थिइन् ।

फिल्ममा प्रदीपसँगै दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक,दीपेन्द्र शाहीलगायतका कलाकारको अभिनय छ । बिनिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुसाल, दीपक शर्मा, ताराप्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत छ । करिव ४० दिनमा छायांकन पूरा भएको सो फिल्ममा साढे दुई करोड लगानी भएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्