बिर्तामोड, साउन २४ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेपाली कांग्रेसले फेरि गठबन्धन निर्माण गर्नैलाग्दा नेकपा एमालेले कांग्रेससंग सहकार्य नगर्न अपिल गरेको छ ।
नेपाली कांग्रेस दक्षिणपन्थी अवसरवादी शक्ति भएकाले देश र जनताका खातिर विवेक प्रयोग गर्ने बेला आएको भन्दै एमालेले बामपन्थी परिवर्तनकारी न्यायप्रेमी जनसमुदायलाई आफ्नो पार्टीले उठाएको झण्डामुनि गोलबद्ध हुन अपिल गरेको हो ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेसलगायतका दलहरु फेरि गठबन्धन निर्माण गर्न लागेपछि एक्लिन लागेको एमालेले आफूतिर तान्ने प्रयास गरेको हो । एमाले झापाले पार्टीबाट अलग भएका कार्यकर्ताहरुलाई घर फर्कन आह्वानसमेत गरेको छ ।
जिल्ला अध्यक्ष दीपक कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘ नेकपा एमाले जस्तो परिवर्तनकारी क्रान्तिकारी शक्तिबीच कुन कित्तामा उभिने हो, विवेकको प्रयोग गर्ने बेला आएको छ । त्यसैले बामपन्थी परिवर्तनकारी न्यायप्रेमी जनसमुदायलाई नेकपा एमालेले उठाएको झण्डामुनि गोलबद्ध हुन हार्दिक अपिल गर्दछौ । साथै विभिन्न कालखण्डमा पार्टीबाट अलग भएका एमाले कार्यकर्ताहरुलाई घर फर्कन आह्वान गर्दछौ ।’
नेपाली कांग्रेसको नेतृत्वमा समाजवादी यात्रा सम्भव नभएको कार्कीले दावी गरेका छन् । त्यसैले बामपन्थी आन्दोलनमा विश्वास राख्ने जोसुकैले पनि गम्भीर हुनुपर्ने अवस्था आएको उनको भनाई छ । ‘नेपाली जनताको मुल अन्तरविरोध रहेको विदेशी दलाल नोकरशाही पुँजीपती वर्गको नेतृत्व नेपाली कांग्रेसले गरिरहेको छ । राष्ट्रलाई वैदेशिक हस्तक्षेपबाट मुक्त गराएर ‘सुखी नेपाली—समृद्ध नेपाल’ बनाउने परिकल्पना शोषणरहित समाजका साथ गरिएका बामपन्थी आन्दोलनको मुल बाधक नेपाली कांग्रेस नै हो । केही बामपन्थी पार्टीहरु राजनैतिक सोच, चिन्तन र विचारबाट स्खलित भएर नेपाली कांग्रेसलाई काँधमा बोकेर हिडिरहेका छन् । नेपाली कांग्रेसको नेतृत्वमा समाजवादी यात्रा सम्भव छैन त्यसैले बामपन्थी आन्दोलनमा विश्वास राख्ने जोसुकैले पनि गम्भीर हुनुपर्ने अवस्था आएको छ ’विज्ञप्तिमा भनिएको छ,‘ आज हाम्रो देश गम्भीर संकटमा गुज्रिरहेको छ । राजनैतिक, आर्थिक, सामाजिक क्षेत्रमा वैदेशिक हस्तक्षेप बढेको छ । भारतीय सीमा अतिक्रमण बढ्दो छ । कालापानी, लिम्पियाधुरा, लिपुलेकसहितको चुच्चे नक्सा हाम्रो अगुवाईमा कायम गरिएको भएपनि यो गठबन्धन सरकारले भूभाग फिर्ता गर्ने कुनै पहल गरेको छैन । यो गठबन्धन सरकारले राष्ट्रियतामा गम्भीर संकट उत्पन्न गर्ने गरी नागरिकता विधेयक जारी गरेको छ । देश आर्थिक संकटतर्फ धकेलिदै छ । एमाले सरकारमा रहँदा जागृत गरेको नेपाली जनताका विकासका सपनाहरु मुर्झाएका छन् । सरकारको संरक्षणमा भ्रष्टाचार संस्थागत गरिएको कुरा भ्रष्ट अर्थमन्त्रीको पुनर्वहालीबाट प्रष्ट भएको छ । आज देश असफल राष्ट्रतर्फ धकेलिदै छ ।’
देशी विदेशी जनविरोधी शक्तिहरु जनताको आन्दोलन कमजोर बनाउन लागिपरिरहेको भन्दै कार्कीले यो षड्यन्त्रलाई सामना गर्दै नेपाली क्रान्तिलाई निरन्तर अगाडी बढाउन सबैको कर्तव्य हो र न्यायप्रेमी नेपाली जनताको साथ सहयोगमा क्रान्तिको मन्जीलसम्म एमाले पार्टीले नेतृत्व गर्ने बताएका छन् ।