बिर्तामोड, साउन २४ । बिर्तामोड ४ स्थित कञ्चनजंघा अंग्रेजी माविको शौचालय दुर्गन्धित भएपछि अभिभावकहरुले विद्यालयको ध्यानाकर्षण गराएका छन् ।

उत्तरपट्टिको विद्यालय भवनको भुइँतलामा रहेको शौचालय दिसापिसाबले भरिएर विद्यालयभरि दुर्गन्ध फैलिएपछि अभिभावकहरुले विद्यालयको ध्यानाकर्षण गराएका हुन् । सोमबार अभिभावक गणेश खतिवडाले त्यसबारे प्रिन्सिपल गुरुभक्त न्यौपानेको ध्यानाकर्षण गराएका थिए । तर, न्यौपानेले गैरजिम्मेवार भएर जवाफ दिएपछि मंगलवार जनप्रतिनिधिसहित अभिभावकहरुले उनको ध्यानाकर्षण गराएको खतिवडाले बताए ।
वडा सदस्य उमेश राउतसहितको टोलीले त्यस समस्याका बारेमा बताउँदा प्रिन्सिपल न्यौपानेले आफ्नो विद्यालयमा १४०० विद्यार्थी रहेको र धेरै विद्यार्थीका कारण सरसफाईमा समस्या आएको जवाफ दिएका थिए । उनले केही दिनमा दुर्गन्धित शौचालयको व्यवस्थापन गर्ने आश्वासन दिएका छन् ।