झापा, साउन २५ । गएराति आएको वर्षा र बाढीले काठमाडौं उपत्यकाका दर्जनौँ ठाउँमा क्षति पु¥याएको छ ।

वर्षापछि मनोहरा खोलामा बाढी आउँदा आसपासका दर्जनौँ बस्ती डुबानमा परेका हुन् । प्रहरीका अनुसार अहिलेसम्म कुनै मानवीय क्षति भएको जानकारी छैन । तर, बाढीले ठूलो मात्रामा पशुचौपाया, लत्ताकपडा, खाद्यान्नका सामग्री बगाएको छ भने भौतिक संरचनामा समेत क्षति पु¥याएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठोरले मनोहरा नदीमा आएको बाढीका कारण आसपासका दर्जनौँ बस्तीहरु डुबानमा परेको बताए ।
उनका अनुसार डुबानमा परेका र सम्भावित जोखिममा रहेका करिब साढे तीन सय जनालाई प्रहरीले गएराति उद्धार गरेको छ । जडीबुटी क्षेत्रको सुकुम्बासी बस्तीका तीन सय जनालाई उद्धार गरी कोटेश्वर बहुमुखी क्याम्पसमा राखिएको छ ।
त्यस्तै, शंखरापुर नगरपालिका–६ र ९ तथा कागेश्वरी मनोहरा नगरपालिका–४ बाट १७ जनालाई उद्धार गरिएको छ । महादेव खोलामा आएको बाढीले विद्युत्का पोलमा क्षति पु¥याएका कारण त्यहाँ विद्युत अवरुद्ध छ ।

त्यस्तै, पेप्सीकोला क्षेत्रबाट १५ जनालाई उद्धार गरी सुरक्षित ठाउँमा राखिएको प्रवक्ता राठोरले जानकारी दिए । ‘वर्षाले नदीमा पानीको मात्रा बढेपछि किनारामा कटान गरेको छ, आसपासका बस्तीहरु डुबेका छन् भने सुकुम्बासी बस्तीमा बाढी पसेको छ,’ प्रवक्ता राठोरले भने, ‘मानवीय क्षति छैन । तर, ठूलो मात्रामा पशुचौपाया, खाद्यान्न, लत्ताकपडालगायत सामग्रीहरु बगाएको छ । क्षतिको विवरण यकिन भइसकेको छैन ।’

बाढीले मनोहरा आसपासका सुकुम्बासी बस्तीमा करिब एक सय घर डुबाएको छ भने काँडाघारी प्रहरी प्रभागसहित आसपासका करिब दुई सय घर डुबाएको छ । दुवाकोट बेंशीमा पनि २० वटा सुकुम्बासीका छाप्रोमा पानी पसेको छ । मध्यपुरथिमि नगरपालिका–१ मा माटोको ढिस्को खोलामा पस्दा खोलाले धार नै परिवर्तन गरी बस्तीमा पसेको छ ।
उपत्यका प्रहरी कार्यालयका प्रवक्ता राठोरले अहिले डुबान भएको क्षेत्रमा क्रमशः पानीको सतह घटेको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्