झापा , साउन २५ । विराटनगरबाट सशस्त्र प्रहरीले लागूऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-४ खार्जीका १९ वर्षीय आशिष मण्डल र २० वर्षीय दिपेश मण्डल रहेका छन् । सशस्त्र प्रहरी बल बीओपी रानीको टोलीले विराटनगर-१६ हुलास मेटल चोकबाट उनीहरुलाई मंगलबार दिउँसो ३ बजेतिर पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट तीन किलोग्राम गाँजा बरामद भएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले जानकारी दिए । प्लाष्टिकमा प्याक गरिएको गाँजा स ९ प ९६०६ नम्बरको मोटरसाइकलमा राखेर भारतको जोगवनी कटाउन खोज्दै गर्दा सशस्त्रले नियन्त्रणमा लिएको हो । पक्राउ परेकामध्ये आशिष मोटरसाइकल चालक हुन् । दिपेश पछाडि सवार थिए । सशस्त्रलाई देख्नासाथ उनीहरु फरार हुन खोजेपछि घेरा हालेर पक्राउ गर्दै मोटरसाइकल र गाँजासमेत नियन्त्रणमा लिइएको एसपी लामिछानेले बताए । उनका अनुसार नेपालबाट भारततिर लागूऔषध गाँजा ‘सप्लाई’गर्ने धन्दामा लामो समयदेखि उनीहरु संलग्न रहँदै आएको पाइएको छ । पक्राउ परेकाहरुलाई सशस्त्रले आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ । ईलाका प्रहरी कार्यालय रानीमा राखिएका दुवैजनाविरुद्ध लागूऔषध ऐन अन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्