झापा, साउन २६ । झापामा एक भारतीय नागरिकसहित चारजना लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् ।

झापा प्रहरीले उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बुधवार दिउसो सवा २ बजे भद्रपुर नगरपालिका- ३ स्थित झोलुङ्गे पुलबाट भारतबाट नेपालतर्फ आउँदै गरेको भारत पश्चिम बङ्गाल दार्जिलिङ थबाना खोरीबारी भेलकोजोत निवासी ४२ वर्षीय निखिल विश्वासलाई ३ ग्राम ८०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । त्यस्तै लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले बुधवार बेलुका ७ बजे बिर्तामोड नगरपालिका-२ स्थित चारपानेबाट सोही ठाउँका ३६ वर्षीय बद्री राजवंशीलाई ३ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ भने बुधवार राति ८ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-९ स्थित ईटाभट्टाबाट २९ प २२३४ नम्बरको मोटरसाइकलमा सवार गौरादह नगरपालिका १ बस्ने ३३ वर्षीय भीमबहादुर श्रेष्ठ र सोही ठाउँका ३२ वर्षीय मोहन सिलवाललाई २५ ग्राम ब्राउन सुगर र नगद १० हजारसहित पक्राउ गरेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । पक्राउ परेका चारैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको डीएसपी पाठकले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्