झापा, साउन २८ । झापाको कनकाई नहरमा पौडी खेल्न गएका एकै गाउँका दुई बालबालिकाको डुबेर मृत्यु भएको छ ।

डुबेर मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका– ९ स्थित आइतबारे निवासी सुस्मा सुन्दासका ११ वर्षीया छोरी एन्जिला सुन्दास र सोही ठाउँका ध्रुव राईका १२ वर्षीय छोरा सिकुम राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी बसन्त पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार बिहीबार दिउँसो ४ बजे एन्जिला र सिकुम घर नजिकैको कनकाई सिचाई आयोजनाको नहरमा पौडी खेल्न गएका थिए । साँझ अबेरसम्म उनीहरू घर नफर्किएपछि परिवारजनले खोजतलास गर्ने क्रममा नहरको डिलमा उनीहरूले लगाएको कपडा र चप्पल फेला परेको थियो ।

त्यसपछि परिवारजन र छरछिमेकले इलाका प्रहरी कार्यालय झिलझिलेलाई खबर गरेपछि प्रहरी र स्थानीयले उनीहरूको खोजतलास शुरु गरेका थिए । त्यसक्रममा राति ९.१५ बजे कपडा राखिएको स्थानदेखि ४ किलोमिटर पश्चिम शिवसताक्षी ७ स्थित सताक्षी खोलामा दुवै जना पानीमा डुबिरहेको अवस्थामा मृत फेला परेको डीएसपी पाठकले बताए ।
दुवै शवको कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ । घटनाका बारेमा इलाका प्रहरी कार्यालय झिलझिलेले अनुसन्धान अघि बढाएको छ । एकै गाउँका दुई बालबालिकाको डुबेर मृत्यु भएपछि गाउँ शोकमा डुबेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्