हल्दीवारी , साउन २७ । हल्दीवारी गाउँपालिकामा स्तम्भ र गेट बनाउने लहर चलेको छ । चोकैपिच्छे स्तम्भ र गेट निर्माण गरेर अनुत्पादक क्षेत्रमा गाउँपालिकाले लगानी खेर फालेपछि त्यसको तीब्र आलोचना भएको छ ।

हल्दीवारीमा अहिलेसम्म ७ वटा स्तम्भ र दुईवटा गेट निर्माण भइसकेका छन् । त्यसमध्ये वडा नं २ मा मात्र ४ वटा स्तम्भ र एउटा गेट बनेको हो । वडा नं २ को पाराखोपीमा परेवाको स्तम्भ , हल्दीवारी चोकमा बेसारको बोटको स्तम्भ , बेलागरा चोकमा अस्ताउन लागेको घामको स्तम्भ , भेलागुरीमा गाईको स्तम्भ निर्माण गरिएको छ । त्यस्तै सोही वडाको खर्साङवारी जाने सडकमा शहीद गेट निर्माण गरिएको छ ।

त्यस्तै वडा नं १ मा माछा र च्याब्रुङको गरी दुईवटा स्तम्भ बनाइएको छ भने त्यहाँ पनि एउटा शहीद गेट निर्माण गरिएको छ । त्यस्तै वडा नं ३ मा बाघको स्तम्भ निर्माण गरिएको छ । ती स्तम्भ र गेटमा लाखौं बजेट खर्च भएको छ । वडा नं २ स्थित पाराखोपीको परेवा स्तम्भका लागि ३ लाख ७६ हजार , हल्दीवारी चोकको बेसारको बोटको स्तम्भका लागि अढाई लाख , बेलागरा चोकको अस्ताउन लागेको घामको स्तम्भका लागि अढाई लाख खर्च भएको छ । त्यस्तै भेलागुरीको गाईको स्तम्भ निर्माणका लागि एक हिन्दूवादी संगठनलाई गाउँपालिकाले एक लाख रुपैयाँ सहयोग गरेको थियो । त्यस्तै खर्साङबारी जाने बाटोमा ५ लाख ३५ हजारको लागतमा गेट निर्माण भएको हो । त्यस्तै वडा नं १ मा अढाई लाखको लागतमा माछाको स्तम्भ बनेको छ भने च्याब्रुङको स्तम्भको लागि ४० हजार रुपैयाँ खर्च भएको छ । सो वडामा बनेको गेटका लागि ४ लाख ८० हजार रुपैयाँ खर्च भएको गाउँपालिकाको योजना शाखाले जनाएको छ ।

त्यस्तै वडा नं ३ मा करिब ७० हजारको लागतमा बाघको स्तम्भ निर्माण भएको हो । गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरीले गाउँपालिकाको बजेटले आफ्नो घर छेउमा बाघको स्तम्भ निर्माण गर्न लगाएका हुन् ।बाघको स्तम्भबाहेक अन्य सबै स्तम्भ र गेट वडा कार्यालयहरुले आफ्नो बजेटबाट निर्माण गरेका हुन् । वडा नं २ ले मात्र स्तम्भ र गेटमा आफ्नो १६ लाख बजेट सिध्याएको छ । अर्कोतर्फ हल्दीवारीका सबै स्तम्भ बीच सडकमा निर्माण गरिएका छन् । जसले आवतजावतमा समस्या उत्पन्न भई दुर्घटनाको जोखिम बढेको छ । अघिल्लो कार्यकालमा पाराखोपी चोकमा निर्माण गरिएको परेवाको स्तम्भ पटकपटक भत्किसकेको छ । साँघुरो बाटामा निर्माण गरिएको त्यस स्तम्भमा धेरै सवारीसाधन ठोक्किसकेका छन् । अन्य स्तम्भहरु पनि पाराखोपीको जस्तै अप्ठ्यारो बीच सडकमा बनाइएका छन् । बीच सडकमा बनाइएकाले गर्दा धुलो धुवाँका कारण नियमित स्याहार नगरे सुन्दरताको सट्टा कुरुप हुने संभावना त्यतिकै छ ।

ठाउँ र जाति समुदायको इतिहास र पहिचान जोगाउन भनेर ती स्तम्भ र गेटहरु निर्माण गरिएका हुन् । तर ती स्तम्भ र गेटले कुनै पहिचान नदिने दावी गर्दै गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले सम्बन्धित जाति समुदायको पहिचान जोगाउन बिशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । बाटा बाटामा स्तम्भ बनाउनुको साटो संग्रहालयमा जाति समुदायका अवशेषहरुलाई जगेर्ना गर्नु उपयुक्त हुने उनले प्रतिक्रिया दिए । त्यस्ता स्तम्भ र गेट निर्माणको पक्षमा कहिले नलागेको बताउँदै उनले आफू अल्पमतमा रहेका बेला वडाको बजेटबाट अनुत्पादक क्षेत्रमा मनपरी ढंगले खर्च गरेको जानकारी दिए । अब त्यस किसिमको क्षेत्रमा खर्च गर्ने कुरामा निरुत्साहित गरिने उनको भनाई छ ।

त्यस्तै निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपानेले स्थानको पहिचान झल्किने गरी कम लागतमा त्यस्ता स्तम्भ र गेट निर्माण गरिएको भएपनि त्यसबाट आवतजावतमा समस्या भएको बताए । बीच बाटोमा धुलो धुवाँले छोपिने गरी कुनै पनि शालिक र स्तम्भ निर्माण गरिँदा इतिहासको सम्मान नभएर अपमान हुने उनले प्रतिक्रिया दिए । शालिक र स्तम्भहरु बीच सडकमा नबनाएर पार्क वा जंगल छेउमा निर्माण गर्न उनले सुझाव दिए ।

गत वर्ष चारआली– चन्द्रगढी सडकखण्डको देवकोटा चोकमा रहेको शालिकमा ठोक्किएर भएको सवारी दुर्घटनामा एमाले नेता ज्ञानु प्रसाईको मृत्यु भएपछि त्यस शालिकलाई भत्काइएको छ । त्यस्तै बेस्याहार अबस्थामा पुगेको भद्रपुर भानु चोकको भानुभक्तको शालिक पनि हटाउनुपर्ने माग हुन थालेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्