झापा, साउन २९ । नेपाल रेडक्रस सोसाइटी उपशाखा जलथलको लाखौं रकम हिनामिना गर्ने निवर्तमान सभापति विष्णुप्रसाद उप्रेतीमाथि कार्वाही हुनुपर्ने माग भएको छ ।

संस्थाको १२ औ साधारणसभामा सहभागी सबैले उप्रेतीलाई कार्वाहीको माग गरेका हुन् । उप्रेती १२ लाख ३ हजार ६२९ रूपैयाँ हिनामिना गरेर बेपत्ता भएका छन् । जसका कारण निवर्तमान र वर्तमान कार्यसमितिको चर्को विरोध भइरहेको छ । विगत ३ वर्षदेखि साधारणसभा तथा लेखापरीक्षण हुन नसकेको रेडक्रस जलथल केही समयअघि देखि विवादमा आएको हो ।

रेडक्रस जलथलका सभापति रेमप्रसाद खरेलको सभापतित्वमा भएको कार्यक्रममा नेरेसो झापाका सभापति लोकराज ढकालको प्रमुख आतिथ्यता रहेको थियो भने विशेष अतिथिहरूमा हल्दिवारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, नेरेसो प्रदेश १ कोषाध्यक्ष ओमप्रकाश गौतम, मन्त्री चन्द्रप्रकाश चुडाल, झापा नेरेसो कोषाध्यक्ष हेम राजवंशी, अतिथिहरुमा हल्दिवारी ४ नं वडाध्यक्ष सन्तकुमार थापा,३ नं वडाध्यक्ष बिष्णुप्रसाद ओली, रेडक्रस पूर्व सभापतिहरू रामचन्द्र उप्रेती, श्रीप्रसाद बाराकोटी, पूर्वसचिव होम चुडाल , महेन्द्र माविका प्रधानाध्यापक चक्र बस्नेत , नेपाली कांग्रेसका सभापति गंगा प्रसाई, नेकपा एमालेका उपाध्यक्ष महेशलाल मेचे, राप्रपाका अध्यक्ष एकराज रानामगरलगायत जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, शिक्षक सहभागी रहेका थिए । त्यस्तै रेडक्रसका आजीवन सदस्यलगायत अन्य सरोकारवालाहरूको बाक्लो उपस्थिति रहेका थियो ।

कार्यक्रममा बोल्दै रेडक्रस जलथलका पूर्व सभापति रामचन्द्र उप्रेतीले विशुद्ध सामाजिक सेवामा समर्पित संस्थामा भएको आर्थिक हिनामिनाले लज्जित बनाएको भन्दै निवर्तमान सभापति विष्णु उप्रेतीले रकम दाखिला गर्नुपर्ने धारणा राखे । महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक चक्र बस्नेतले रेडक्रसमा बसेर उप्रेतीले गरेको कार्य खेदजनक रहेको बताए । यसैगरी कार्यक्रममा नेपाली काँग्रेस हल्दिवारीका सभापति गंगा प्रसाई, नेकपा एमालेका उपाध्यक्ष महेशलाल मेचे, राप्रपाका अध्यक्ष एकराज रानामगरलगायतले आफ्नो मन्तव्य राख्दै रेडक्रसजस्तो संस्थामा बसेर अनियमितता गर्ने मान्छे जुनसुकै पार्टीको भएपनि कारवाहीको दायरामा ल्याउन आफूहरु लागिपरिरहेको बताए । यसैगरी हल्दिवारी गाउँपालिका उपप्रमुख लक्ष्मीदेवी मैनालीले आफू विभिन्न संघसंस्थामा रहेर काम गरिरहे पनि यो घटनाले आफूलाई अत्यन्तै दुखित बनाएको बताइन्।

कार्यक्रमका प्रमुख अतिथि रेडक्रस झापाका सभापति लोकराज ढकालले जनताको रगत पसिना मिसिएको रेडक्रसको सम्पत्ति दुरूपयोग गर्ने, कार्यसमितिका अन्य पदाधिकारीहरुलाई कुनै कुरा जानकारी नगराउने, जिल्लाको कुनै कार्यक्रममा सहभागिता नजनाउने, वार्षिक साधारणसभा नगर्ने ठूलो गल्ती गरेको भन्दै विष्णु उप्रेती सम्पर्कमा आएर यी यावत कुराको स्पष्टीकरण दिनुपर्ने र कसैले पनि रेडक्रसलाई पार्टीसंग जोड्न नहुने बताए । उनले उप्रेतीको खोजीको लागि जिल्ला प्रशासन कार्यालयमा उजुरी गरिसकेको भन्दै केही व्यक्तिले सामाजिक सञ्जालमा जिल्ला शाखालाई समेत जोडेर लेखिएको पाइएको भन्दै हचुवाको भरमा संस्था र व्यक्तिको निष्ठामा आँच पुर्याउने कार्य नगर्न आग्रह गरे । यस्तै सभापति खरेलले आगामी दिनमा रेडक्रस सोसाइटी उपशाखा जलथलको हरेक कुरा चुस्तदुरुस्त बनाउने र पूर्व सभापति उप्रेतीलाई जसरी भएपनि कानुनको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए।

कोषाध्यक्ष सुरेन्द्र बाराकोटीले २०७८फाल्गुन १४ देखि २०७९ असार मसान्तसम्मको रू १३ लाख ७३ हजार ५५७ रुपैयाँको आयव्यय विवरण सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । स्वागत मन्तव्य उपाध्यक्ष तुलसा आचार्यले राखेको कार्यक्रमको संचालन सचिव खिवराज भट्टराईले गरेका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्