झापा , साउन २९ । प्रदेश १ मा प्रहरीमा दर्ता हुने विभिन्न अपराधसँग सम्बन्धित मुद्दाको संख्या बढ्दै गइरहेको छ ।

१४ जिल्ला रहेको प्रदेशका विभिन्न प्रहरी कार्यालयमा प्रत्येक वर्ष दर्ता हुने मुद्दाको संख्याले अपराध बढ्दै गइरहेको देखाएको छ। पछिल्लो तीन वर्षको तथ्यांकले सामान्य तथा जघन्य प्रकृतिका अपराधसँग सम्बन्धित मुद्दा बढिरहेको पुष्टि गर्छ । आर्थिक वर्ष २०७६/०७७ यता तीन वर्षको अवधिमा प्रदेश १ मा २२ हजार पाँच सय ३२ मुद्दा प्रहरीमा दर्ता भएका छन् । गत आर्थिक वर्ष २०७८/०७९ मा प्रदेश १ मा आठ हजार ५५ वटा मुद्दा प्रहरीमा दर्ता भएको थियो। आर्थिक वर्ष २०७७/०७८ मा सात हजार तीन सय ८६ वटा मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०७७/०७८ को तुलनामा २०७८/०७९ मा छ सय ६९ वटा बढी मुद्दा दर्ता भएका छन्। आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश १ मा सात हजार ९१ वटा मुद्दा दर्ता भएको तथ्यांक प्रहरीसँग छ । प्रहरीका अनुसार आत्महत्या, लागुऔषध, जबरजस्ती करणी, करणी उद्योग, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, ठगी, अभद्र व्यवहारसमेतका अपराधसँग सम्बन्धित मुद्दा बढेर गएका छन्। प्राविधिको बढ्दो प्रयोग, सामाजिक सञ्जालको दुरुपयोग, आपसी वैमनश्यता, लागुऔषधको सेवन, जनचेतनाको कमी, गरिबी, वेरोजगारीसमेतका कारणले अपराध बढेको प्रदेश १ प्रहरी प्रमुख डीआईजी सुदीप गिरीले बताए। ‘समाजमा नयाँ प्रकृतिका अपराध देखिन थालेका छन्,’ उनले भने, ‘अञ्जानमा पनि अपराधमा संलग्न हुने क्रम बढेको पाइन्छ।’ विभिन्न घटना प्रहरीमा आउनेवित्तिकै दर्ता गरेर मुद्दाका रूपमा अघि बढाउनुपर्ने अवस्था र प्रहरीको सक्रियता तथा कानुनप्रतिको विश्वासले पनि मुद्दा दर्ता संख्या बढ्दा अपराध बढेजस्तो देखिएको गिरीको भनाइ छ । ‘अपराधसँग सम्बन्धित मुद्दा प्रदेश १ मा बर्सेनि बढिरहेको छ। त्यसका धेरै कारणहरु छन्,’ उनले भने, ‘अपराध अनुसन्धान र नियन्त्रणका लागि प्रहरी सक्रियता बढाइएको छ। समुदाय-प्रहरी साझेदारीलगायतका विभिन्न अभियानमार्फत अपराधिक घटना रोक्ने खालका कार्यक्रम सञ्चालनको तयारी भइरहेको छ।’ अपराध न्यूनीकरण र नियन्त्रणका लागि सबै पक्षसँग समन्वय गरेर योजना बनाउँदै अघि बढ्ने तयारी रहेको डीआइजी गिरीले बताए । अपराधरहित समाज निर्माणलाई प्रहरीले पहिलो प्राथमिकतामा राखेको र समाजमा अपराध बढ्नु चिन्ताको विषय भएको उनको भनाइ छ । ‘विभिन्न अपराधको मिहीन अध्ययन गरी गहिराईसम्म पुगेर कारण पत्ता लगाउँदै त्यस्ता प्रकृतिका अपराध नियन्त्रण गर्नेतर्फ प्रहरी लागिपर्ने गिरीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्