बिर्तामोड, साउन २९ । बिर्तामोड नगरक्षेत्रभित्र उत्सर्जन हुने फोहोर तत्कालका लागि वडा नम्बर ८ स्थित हर्चनामा रहेको सुरेन्द्र नेपालको निजी जग्गामा व्यवस्थापन गरिने भएको छ ।

बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आइतवार बसेको सर्वदलीय बैठकले नेपालको जग्गामा व्यवस्थितरुपमा खाल्डो खनेर फोहोर व्यवस्थापन गर्ने निर्णय गरेको हो । बैठकले उक्त जग्गामा फोहोर व्यवस्थापनका लागि सबै राजनीतिक दल,स्थानीयवासी तथा सरोकारवालाहरुले आवश्यक सहयोग र समन्वय गर्ने निर्णय गरेको छ । बैठकले फोहोर विर्सजन स्थलमा फोहोर लाने सडक स्तरोन्नति गर्ने, तटवन्ध गर्ने र सडक बत्ती जडानका लागि नगरपालिकाले आवश्यक बजेट विनियोजन गर्न सिफारिस गर्ने समेत निर्णय गरेको छ ।

यस्तै बैठकले वडा नम्बर ७ मा रहेको सुन्दर निचाझोडा वनक्षेत्रमा रहेको खाली जग्गामा समेत वृक्षरोपण गरी फोहोर व्यवस्थापन गर्न सम्भाव्यता अध्ययन गर्न नगरपालिकालाई सिफारिस गर्ने निर्णय गरेको छ ।बैठकले बिर्तामोडको फोहोर व्यवस्थापनको दिगो र प्रभावकारी व्यवस्थापनका लागि नगरपालिकाले उपयुक्त स्थानमा आवश्यक जग्गा खोजी तथा प्राप्ति गर्न र कनकाई अर्जुन बिर्तामोड नविकरणिय ऊर्जा कम्पनीमार्फत फोहोरबाट ऊर्जा उत्पादन गर्ने कार्यमा साझेदारी हुने मार्गहरु समेत अगाडि बढाउने निर्णय गरेको छ ।

यस्तै बैठकले फोहोरलाई कुहिने र नकुहिने रुपमा वर्गीकरण गर्न सबै घरपरिवार तथा व्यावसायिक संस्थाहरुलाई आव्हान गरी वर्गीकरण नभएको फोहोर संकलन नगर्ने कार्ययोजना बनाएर लागु गर्ने, फोहोर संकलन,ढुवानी र विर्सजन गर्ने कार्यमा अवरोध पुर्याउने,क्षति गर्ने जस्ता अराजक क्रियाकलापहरु भए त्यस्ता व्यक्ति तथा समूहहरुलाई स्थानीय प्रशासनमार्फत बल समेत प्रयोग गरि फोहोर व्यवस्थापन गर्ने र फोहोर व्यवस्थापनका लागि नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा गठन भएको समितिमा सबै राजनीतिक दलका प्रमुख वा प्रतिनिधिहरु समेतको प्रतिनिधित्व हुनेगरी पुनर्गठन गर्ने निर्णय गरेको छ ।

बैठकमा नगरप्रमुख प्रसाई, प्रदेश १ सांसद एकराज कार्की, उपप्रमुख संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, नेकपा एमाले प्रदेश कमिटी सदस्य रोमणि भट्टराई, नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, नेकपा एमाले बिर्तामोड नगर कमिटी इन्चार्ज देवराज कार्की, नेपाली कांग्रेस बिर्तामोडका कार्यवाहक सभापति तथा वडा नम्बर ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, नेकपा माओवादी केन्द्रका बिर्तामोड नगर कमिटी अध्यक्ष मोहन सुव्वा, राप्रपा बिर्तामोड नगर समिति अध्यक्ष रञ्जु प्याकुरेल, एकीकृत समाजवादीका श्रीप्रसाद सिटौला, लोसपाका बिर्तामोड अध्यक्ष लखनलाल राजवंशीलगायत वडाध्यक्ष तथा संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

जग्गाधनीसंग सहमति भईसकेकाले बिर्तामोडको फोहोर सोमवारदेखि नै उठाइने तयारी रहेको नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्