झापा, साउन ३० । हिमाली जिल्ला सोलुखुम्बुमा माछापालन प्रवद्र्धनका लागि करिब चार करोड रुपियाँ रकम खर्च भएको छ ।

जिल्लाको विभिन्न स्थानमा ट्राउट माछापालनका लागि पछिल्लो चार आर्थिक वर्षमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र ओखलढुङ्गा र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरबाट १२ वटा फार्मलाई तीन करोड ९६ लाख ५९ हजार रुपियाँ अनुदान वितरण गरिएको हो । अनुदान प्राप्त गर्नेमा महाकुलुङ गाउँपालिका-१ को महाकुलुङ रेन्बो ट्राउट माछापालन ब्लक समिति, खुम्बु पासाङल्हामु गाउँपालिका-१ को खुम्बु कृषि व्यवसाय तथा माछापालन समूह, सोलुदूधकुण्ड नगरपालिका-९ को सोलु रेन्बो ट्राउट माछापालन समूह, थुलुङ दूधकोसी गाउँपालिका-७ को थुलुङ महाकुलुङ रेन्बो ट्राउट ब्लक विकास समूह र सोलुदूधकुण्ड नगरपालिका-१० को सगरमाथा बहुउद्देश्यीय कृषि तथा पशु फार्म रहेका छन् । त्यस्तै सोलुदूधकुण्ड नगरपालिका-९ को सुजन शशि कृषि तथा पशु फार्म, खुम्बु पासाङल्हामु गाउँपालिका-१ को सगरमाथा कृषि व्यवसाय तथा माछा केन्द्र र थुलुङ दूधकोसी गाउँपालिका-९ को राजा बहुउद्देश्यीय ह्याचरी कृषि तथा पशु फार्म, माप्यदूधकोसी गाउँपालिका-२ को मामा भान्जा बहुउद्देश्यीय कृषि तथा माछा केन्द्र, सोलुदूधकुण्ड नगरपालिका-१ को हिमाली कृषि तथा रेन्बो ट्राउट माछा फार्म, सोलुदूधकुण्ड नगरपालिका-४ को हिमाली रेन्बो ट्राउट तथा लोकल माछा फार्म र थुलुङ दूधकोसी गाउँपालिका-१ को ज्योति बहुउद्देश्यीय कृषि तथा पशु फार्म रहेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र ओखलढुङ्गा सम्पर्क केन्द्र सोलुखुम्बुले जनाएको छ । उक्त फार्ममध्ये केहीलाई ७५ र केहीलाई ५० प्रतिशत अनुदान प्रदान गरिएको केन्द्रका प्रमुख भीमलाल तामाङले जानकारी दिए । माछापालनका लागि राज्यको करोडौँ लागनी भए पनि यस जिल्लामा सीमित फार्मले मात्रै उत्पादन गर्न सकेका छन् । कतिपयले अनुदानका लागि सामूहिक फार्म दर्ता गरे पनि अनुदान प्राप्त भएपछि व्यवसाय सञ्चालन नगरेको पाइएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्