झापा, साउन ३० । दक्षिणी झापाको चर्चित धार्मिकस्थलको रुपमा विकसित हुँदै गएको कचनकवल १ को भुतेश्वर महादेव मन्दिरमा गोरु दान बढ्दै गएको छ ।


अन्य धार्मिकस्थलहरुमा नगद र जिन्सी दान दिने गरिएपनि त्यस मन्दिरमा भाकलस्वरुप भक्तजनहरुले गोरु(बाछो) दान पनि दिने गरेको पाइएको छ । आफ्नो मनोकामना पूरा भएपछि त्यस शिवालय मन्दिरमा शिवको बाहन गोरु दान दिने गरेका हुन् । त्यस मन्दिरमा यो साउन महिनामा ४९ वटा गोरु दान दिइएको छ । पहिलो सोमवार ६ वटा , दोस्रो सोमवार ८ वटा , तेस्रो सोमवार १८ वटा , चौथो सोमवार ६ वटा र अन्तिम सोमवार ११ वटा गोरु दानमा आएको भुतेश्वर महादेव मन्दिर समितिका अध्यक्ष पदमलाल राजवंशीले बताए । गत वर्ष ५३ वटा गोरु दानमा आएको उनले बताए । अध्यक्ष राजवंशीका अनुसार दानमा आएका गोरुहरुलाई बिक्री गरी आम्दानीमा बाँध्ने गरिएको छ । साउन महिनाको सोमवार त्यहाँ भक्तजनहरुले जल चढाउने गरेका छन् ।

गोरुसंगै सुन चाँदी र नगद पनि दानस्वरुप चढाउने गरेका छन् । गत वर्षको साउन महिनामा करिव ३ लाख नगद भेटीस्वरुप संकलन भएको थियो । त्यसमध्ये खर्च कटाएर १ लाख ८० हजार रुपैयाँ बचत गरी कोषमा राखिएको अध्यक्ष राजवंशीले बताए ।

२०१२ सालमा बैजनाथ राजवंशीले भुतेश्वर महादेवको मन्दिर निर्माण गरिदिएका थिए ।उनैले मन्दिरलाई २ विगाह १६ कठ्ठा जग्गा दान दिएका थिए । २०५५ सालदेखि त्यस मन्दिरमा मन्दिर समितिले बोलबम शुरु गरेको हो । साउनको प्रत्येक सोमवार जल चढाउने भक्तजनहरुको घुईचो लाग्ने गरेको छ । भुतेश्वर महादेव मन्दिरलाई धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न विभिन्न भौतिक संरचनाहरु निर्माण गरिएका छन् । पहिला संगै जोडिएको भुतेश्वर बाबा र बोलहरिको मन्दिर मात्र रहेको थियो । तर, अहिले बद्रीनाथ ,गणेश , कार्तिक , हनुमान , पार्वती ,शिवशक्ति , कैलाश र गंगाको मन्दिर निर्माण गरिएको छ । त्यस्तै हवन कुण्ड , धर्मशाला , सत्संग भवन, प्रसाद वितरण गर्ने घर पनि बनाइएको छ । साउनको अन्तिम सोमवार त्यहाँ भक्तजन र मेला भर्नेहरुको निकै घुइचो लागेको थियो ।

आफूले मागेको मनोकामना पूरा हुने आस्था र विश्वासका साथ भारतको विहार , बंगाल र नेपालको विराटनगरसम्मका भक्तजनहरु आउने गरेको सोमवारे साउने बोलबम मेला समितिका अध्यक्ष सुवित राजवंशीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्