झापा , साउन ३१ । गत असार ३१ गते मोरङको कटहरीमा चयन भएको राजवंशी समाज विकास समितिको केन्द्रीय समितिले संस्थाको हितविपरीत काम गर्नेलाई कार्वाहीको चेतावनी दिएको छ ।

राजवंशी समाज विकास समितिको दुई वटा केन्द्रीय समिति गठन भएको अबस्थामा सुवन्तकुमार राजवंशी अध्यक्ष र चन्द्रप्रसाद राजवंशी महासचिव रहेको समितिले संस्थालाई बदनाम गर्ने, संस्थाको विधान, नियमावली पालना नगर्ने, संस्थालाई हानीनोक्सानी पुर्याउने कार्य गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको हो । अध्यक्ष सुवन्तकुमार र महासचिव चन्द्रप्रसाद राजवंशीले एक प्रेस विज्ञप्ति जारी गरी जिल्ला प्रशासन कार्यालय झापाको आदेश अवज्ञा गरी साउन २८ गते बिर्तामोडमा अवैधानिक तवरले अर्को समिति गठन भएको दावी गर्दै त्यस समितिको पछि नलाग्न जिल्ला समितिहरु, सम्पूर्ण गाउँ, नगर, वडा समितिहरुलाई आग्रह गरेका छन् ।

यस संस्थाको छैठौं केन्द्रिय महाधिवेशनअन्तर्गत असार ३१ गते बन्दसत्रबाट उमेश राजवंशीको संयोजकत्वमा निर्वाचन समिति गठन भई निर्वाचन प्रक्रियाबाट अध्यक्षमा सुवन्तकुमार राजवंशी, उपाध्यक्षमा उपासी राजवंशी, जलधर राजवंशी, इजालाल राजवंशी महासचिवमा चन्द्रप्रसाद राजवंशी, कोषाध्यक्षमा सुशिला राजवंशी, सचिवमा सत्यनारायण राजवंशी, मनोजकुमार राजवंशी, सम्पत राजवंशी एवं सदस्यमा चन्द्रप्रसाद राजवंशी निर्वाचित भएको विज्ञप्तिमा जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय झापामा उजुरी परी साउन ४ गते दुवै पक्षबीच छलफल भई विवाद विचाराधिन रहेको अबस्थामा आफूहरुको पक्षमा निर्णय आउने कुरामा उनीहरुले विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्