झापा, भदौ १ । सोमबार अपराह्न ४ बजेतिर ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेले बाँकेटारका रेसु लिङ्देनका ७ वर्षीय छोरा विवेक स्कुलबाट घर फर्कँदै थिए । बाटोनजिकै खोल्सीको दह देखेर उनी लोभिए । कपडा खोलेर दहमा झ्वाम्मै हाम फाले । पौडी खेल्न हाम फालेका उनी दहमै डुबे ।

गत बिहीबार झापा शिवसताक्षी नगरपालिका–९ की ११ वर्षीया एन्जिला सुन्दास र सोही स्थानका १२ वर्षका सिकुम राई नजिकैको कनकाई नहरमा पौडी खेल्न भनी घरबाट निस्किएका थिए । अबेरसम्म नफर्किएपछि प्रहरीको सहयोगमा खोजी गर्ने क्रममा राति करिब ९ बजे स्थानीय सतासी खोलामा दुवैको शव फेला परेको थियो । उनीहरूको कपडा भने घटनास्थलदेखि करिब ४ किलोमिटर वरै कन्काई सिँचाई नहरको डिलमा थियो ।

पौडी खेल्न नहरमा पसेका उनीहरूको शव सतासी खोलामा भेटिएको थियो । साउन ५ मा मोरङ, पथरी–शनिश्चरे नगरपालिका–९ सगरमाथा चोक बस्ने कुमार लिम्बुकी १९ महिनाकी छोरी स्नेहाको घर नजिकैको पैनीमा डुबेर ज्यान गयो । आँगनमा खेल्ने क्रममा घरदेखि करिब ५० मिटर पश्चिमको पैनीमा डुब्दा उनको मृत्यु भएको थियो ।
वर्षायामका दुई महिनामा पूर्वका विभिन्न जिल्लामा पौडी खेल्ने क्रममा खोला र पैनीमा डुबेर १८ भन्दा बढी बालबालिकाले ज्यान गुमाएका छन् । प्रदेश प्रहरी कार्यालय, विराटनगरका अनुसार खोला या पैनीमा डुब्ने १९ महिने शिशुदेखि १५ वर्षसम्मका छन् । सबैभन्दा बढी मोरङका ६ बालबालिकाको डुबेर ज्यान गएको छ । झापामा ५, सुनसरीमा ४, धनकुटामा २ र ताप्लेजुङमा १ को डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कतिपय घटनामा अभिभावकको चरम लापरबाही देखिएको छ । मोरङको पथरी–शनिश्चरे नगरपालिका–९ को घटनामा अभिभावकको हेलचेक्र्याइँले १९ महिने शिशुले ज्यान गुमाएको देखिन्छ । अभिभावक नभएको बेला आँगनमा खेल्दै गरेको बच्चा अचानक पैनीमा डुबेको थियो । तत्काल उद्धार गर्न पाएको भए बच्चाको ज्यान जोगाउन सकिन्थ्यो । तर, तत्काल उद्धार गर्न सकिएन । प्रहरीका अनुसार, खास गरी तराई–मधेसका जिल्लाहरूका धेरैजसो नानीबाबुको डुबेर मृत्यु भएको छ । वर्षाकै बेला र वर्षा रहेपछि जमेको दह, पैनी, नहर या खोलामा पौडी खेल्ने क्रममा अधिकांशको मृत्यु भएको छ । एक बालकको मृत्यु भने शंकास्पद पाइएको प्रहरीले जनाएको छ ।

साउन ७ मा मोरङ सुनवर्षी नगरपालिका–९ भेडुवाथानका दिलीप सुतियारका ३ वर्षका छोरा राहुलको शव घरनजिकैको पोखरीमा भेटिएको थियो । घरबाट बेपत्ता भएपछि खोजतलासका क्रममा पोखरीमा डुबिरहेको बालकको शव भेटिएको थियो । अधिकांश घटनामा भने अभिभावकहरू सचेत नबन्दा ती बालबालिकाहरूले अनाहकमा ज्यान गुमाएको देखिन्छ । ‘अभिभावकको सानो लापरबाहीले पनि हाम्रा नानीहरूको ज्यान जान सक्छ,’ बाल अधिकारकर्मी मणिकुमार लिम्बू भन्छन्, ‘उनीहरूको रमाउन, खेल्न पाउने अधिकारप्रति सचेत बन्दै हामी सजग हुनुपर्छ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्