झापा , भदौ १ । भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको माथिल्लो अरुण प्रभावित क्षेत्रको मुआब्जा दर तोकिएको छ ।
अपर अरुण जलविद्युत आयोजनाले प्रभावित क्षेत्र भोटखोला गाउँपालिका २, ४ र ५ साविक चेपुवा, हटिया र पावाखोला गाविसको जग्गाको मुआब्जा दर निर्धारण गरिएको हो। एक हजार ६१ मेगावाट जलविद्युत् उत्पादन क्षमताको अपर अरुण आयोजना नेपाल सरकार नै बनाउने गरी निर्माण कार्य अघि बढेको हो। उत्तर दक्षिण कोशी राजमार्गले छोएको तथा बस्ती रहेको हटिया ६ को प्रतिरोपनी १५ लाख रुपैयाँ मुआब्जा निर्धारण गरिएको छ । कोशी राजमार्गले छोएको तर बस्ती नभएका हटिया ६ को जग्गा प्रति रोपनी १० लाख रुपैयाँ निर्धारण गरिएको छ। जग्गाप्राप्ति ऐन २०३४ को दफा १३ बमोजिम मुआब्जा निर्धारण समितिको बैठकले मूल्य निर्धारण गरेको हो। त्यस्तै हटिया ८, ९ र चेपुवा १ को अलैँची बाली सहितको जग्गा ९ लाख ५० हजार र चेपुवा १, हटिया ८ र ९, पावाखोला ३ का अलैँची बाली नभएको पाखाबारीको सात लाख रुपैयाँ मूल्य कायम गरिएको छ । जिल्लामा मुआब्जा निर्धारण समितिको संयोजक प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था छ । अपर अरुण जलविद्युत् आयोजना निर्माणका लागि जग्गा अधिग्रहण गर्ने प्रक्रिया सुरु भएको छ । जलविद्युत् आयोजनाका लागि भोटखोलामा २५ सय रोपनी जग्गा अधिग्रहण गरिँदै छ ।
२ खर्बको लगानी, ६ वर्षमा बनिसक्ने
आयोजना निर्माणको कार्य दुई वर्ष पछि सुरु हुने भएको छ । आयोजनाको सम्पूणर् संरचना भोटखोला- २ र ४ मा हुनेछ । सरकारको स्वामित्व रहेको अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडले आयोजना बनाउन लागेको हो । आयोजनाको अनुमानित लागत दुई खर्ब रुपैयाँ भन्दा बढी छ । निर्माण सुरु भएको ६ वर्ष भित्र सम्पन्न गर्ने योजना छ । आयोजनाको ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत स्वदेशी तथा विदेशी बैंक तथा वित्तीय संस्थासँग कर्जा जुटाइनेछ । आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले करिब ६८ प्रतिशत लगानी गर्ने छ । सन् २०२४ को मध्य भागबाट जलविद्युत् आयोजना निर्माण सुरु हुनेछ ।