झापा , भदौ २ । मोरङको सुन्दरहरैँचा नगरपालिका-११ बेलेपुरस्थित एउटा घरमा बुधबार राति आगलागी हुँदा जलेर एकजनाको मृत्यु भएको छ ।

काठ र इँटा प्रयोग गरेर बनाइएको तथा टिनको छानो भएको बालकृष्ण गिरीको दुई तले घरमा राति ११ बजेतिर आगलागी भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार आगलागीमा परेर घरभित्र सुतिरहेका सुन्दरहरैँचा-११ का ३८ वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको हो। घरमा पेन्टिङ(रंग लगाउने)को काम गर्दै आएका श्रेष्ठ ३ दिनअघिदेखि गिरीको घरमा बस्दै आएका थिए । प्रहरीका अनुसार उनी प्रष्टसँग सुन्न र बोल्न सक्दैन थिए । गिरीको घरमा बसेर उनले बनाएको नयाँ घरमा पेन्टिङ गर्दै आएका श्रेष्ठको आगलागीमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ । ‘घरमा सुतिरहेका बेला राति अचानक आगलागी भएछ,’ डीएसपी श्रेष्ठले भने, ‘बाहिर निस्कन नसक्दा घरभित्रै जलेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’ शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । आगोले गिरीको पुरानो घर पूणर् रूपमा जलेर ध्वस्त भएको छ । घरसहित घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, नगद लगायत घरायसी सामान जलेर खरानी भएको प्रहरीले जनाएको छ। प्रहरी, दमकल र स्थानीयको सहयोगमा बिहीबार बिहानका राति २ बजेतिर आगो पूणर् रूपमा नियन्त्रणमा लिइएको थियो। आगो नियन्त्रणका लागि ईलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोली घटनास्थल पुगेको थियो। विराटनगर, इटहरी, सुन्दरहरैँचा र बेलबारीबाट चारवटा दमकल आगो नियन्त्रणका लागि पुगेका थिए

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्