झापा, भदौ ३ । झापाका मिटरब्याज पीडितहरूले धमाधम उजुरी दिन थालेका छन् ।
जिल्ला प्रशासन कार्यालय झापाले मिटरब्याज पीडितहरूबाट उजुरी आव्हान गरेसंगै जिल्लाका ९ जना पीडितहरुले उजुरी दिइसकेका छन् । जिल्ला प्रशासन कार्यालय भद्रपुरमा पाँचजना र इलाका प्रशासन कार्यालय दमकमा चारजना पीडितले उजुरी दिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सुरेन्द्र भट्टराईले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयमा पहिलो दिन दुईजना र हिजो तीनजनाको उजुरी परेको उनले बताए । त्यस्तै इलाका प्रशासन कार्यालय दमकमा पहिलो दिन र हिजो दुई–दुईवटा उजुरी परेको प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए । गृह मन्त्रालयबाट साउन २८ गते जारी भएको सूचना बमोजिम झापा जिल्लामा पनि मिटरब्याजीहरूबाट पीडित व्यक्तिहरू भए भदौ ६ गतेभित्र मिटरब्याजीहरूले गरेको अपराध र शोषणको व्यहोरा खुलाई जिल्ला प्रशासन कार्यालय वा जिल्ला प्रहरी कार्यालय वा ईलाका प्रशासन कार्यालय दमकमा उजुरी दर्ता गराउन जिल्ला प्रशासन कार्यालयले मंगलवार सूचना जारी गरेको थियो ।
बिर्तामोड , दमकलगायतका क्षेत्रका पीडितहरुले उजुरी दिएको जनाइएको छ । ५–७ लाखदेखि २०–३० लाखसम्मको रकम मिटरब्याजमा लगाएको उजुरीमा उल्लेख छ ।