भद्रपुर, भदौ ३ । शनिबारदेखि झण्डै एक साता झापा खेलकुदमय हुने भएको छ ।

आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगितामा झापाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि शनिवारदेखि विभिन्न २६ वटा विधामा खेलाडीहरुबीच प्रतिस्पर्धा हुन लागेको हो ।

झापा जिल्ला खेलकुद विकास समितिले झापा जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिताका लागि सबैखाले तयारी अन्तिम चरणमा पुर्याएको समितिका अध्यक्ष एवम् करातेका प्रशिक्षक भेषराज भण्डारी ‘प्रशान्त’ले जानकारी दिए । ‘आगामी महिना पोखरामा हुने राष्ट्रिय खेलकुद प्रतियोगिता र यही महिनाको दोस्रो सातादेखि हुने १ नं प्रदेशस्तरीय छनोट प्रतियोगितालाई मध्यनजर गरेर झापामा खेलाडी छनोटका लागि प्रतियोगिता हुँदैछ’, अध्यक्ष भण्डारीले भने– ‘बढीभन्दा बढी खेलमा उत्कृष्ट प्रदर्शन गर्ने र बढीभन्दा बढी मेडल ल्याउने गरी तयारी गरिएको छ ।’

शनिबार बिहान प्रदेश नं १ को खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको समितिका सदस्य एवम् प्रवक्ता जगन कार्की (दुर्वासा)ले जानकारी दिए । पछिल्लो समय लोकप्रिय बन्दै गएको खोखो खेलबाट प्रतियोगिता शुभारम्भ हुने बताइएको छ । खोखोमा उत्कृष्टता हासिल गर्ने लक्ष्यअनुरुप खेलाडीहरुले प्रशिक्षक जयप्रकाश राजवंशीको प्रशिक्षणमा खेलाडीहरुले लगातार अभ्यास गरिरहेको खोखो संघ झापाका अध्यक्ष रतिया राजवंशीले जानकारी दिए ।

पहिलो दिन मेची रंगशालामा खोखो र आर्चरी तथा बाहुनडाँगीमा भलिबलका खेलहरु हुने आयोजकले जनाएको छ ।
झण्डै ९ सय खेलाडी सहभागी हुने जिल्लास्तरीय यस प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, बक्सिङ, तेक्वान्दो, कराते, भारत्तोलन, टेबल–टेनिस, कबड्डी, कुस्ती, ब्याडमिन्टन, उसु, जुडो, वास्केटबल, बुद्धिचाल, आईटीएफ तेक्वान्दो, सुटिङ, खमे खमे, पौडी, शारीरिक सुगठन, सेपात्राका, जिम्नाष्टिक, हक्की, साइक्लिङ र आर्चरीका खेलहरु हुने झापा जिल्ला खेलकुद समितिका सचिवालय सदस्य एवम् प्रशिक्षक दुर्गाराज निरौलाले जानकारी दिए । आर्चरी र साइक्लिङलाई पहिलो पटक जिल्लास्तरीय प्रतियोगितामा समावेश गरिएको पनि उनले बताए ।

प्रतियोगितालाई बढीभन्दा बढी सहभागितामूलक प्रतिफलमुखी बनाउने गरी समितिका पदाधिकारी, प्रशिक्षकहरु, व्यवस्थापकीय पक्ष लागिपरेको समितिका प्रशिक्षण विभाग प्रमुख कालु मेचेले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्