बिर्तामोड, भदौ ६ । राष्ट्रिय प्रजातन्त्र पार्टी पुनरजागृत भएपछि पहिलो पटक झापा आएका अध्यक्ष कमल थापाको कार्यक्रममा उल्लेखनीय कार्यकर्ता उपस्थित थिएनन् ।

उल्लेखनीय उपस्थिति गराउन खोज्दा खोज्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना कार्यकर्तालाई बाटैमा रोकेको भन्दै कार्यक्रमका सहभागी वक्ताले आक्रोश पोखे । झापाको चारआलीमा लिङ्देनले नेतृत्व गरेको राप्रपाले सोमवार नै कार्यक्रम आयोजना गरेको छ ।
राप्रपा नेपालको बिर्तामोडमा आयोजित कार्यक्रममा सहभागी हुन हिडेका कार्यकर्ताहरुलाई लिङ्देनले रोकेको आरोप लागेको हो । धेरै लामो समयपछि आफू झापामा आएर कार्यकर्ताहरुसंग भेटघाट गर्न खोज्दा अनेकौं प्रतिकुलता र असहजता खेप्नु परेको अध्यक्ष थापाले बताएका छन् । उनले आफ्नो पार्टी राप्रपा नेपाल प्रसव वेदनाको अवस्थाबाट गुज्रिरहेको भन्दै आफूहरु बिरुद्ध विभिन्न भ्रम सृजना गर्न खोजेको आरोप लगाए । राप्रपा नेपाल परिस्थितिजन्य वाध्यताको रुपमा पुनरजागृत भएको उनको भनाई थियो ।
राप्रपा नेपालको झापा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै राप्रपा केन्द्रीय उपाध्यक्ष लाक्पा तामाङले लिङ्देनको नाम उच्च्चारण गर्दै क्षणिक भीडमा नरमाउन चेतावनी दिए । ‘सडकमा बादर नचाउनेले पनि भीड जम्मा गराउन सक्छ’उनले भने – राजेन्द्रजी तपाई क्षणिक मुतको न्यानोमा नरमाउनु होस् ।’
कार्यक्रममा महामन्त्री तथा प्रशिक्षण विभाग प्रमुख सुशील श्रेष्ठ , महामन्त्री तथा संगठन विभाग प्रमुख राजाराम वर्तौला, प्रवक्ता बसन्तमान सिंह अधिकारी, एक नम्वर प्रदेश अध्यक्ष वासुदेव भट्टराई, सहमहामन्त्री तेज कुरुङ्वाङ, सहायक महामन्त्री देवीरमण भट्टराई, सहायक महामन्त्री ममता राईलगायतले राप्रपाले खडा गरेको चुनौतीहरुको सामना गरेर अघि बढ्न कार्यकर्ताहरुलाई आह्वान गरे । उनीहरुले बाटो छेकेर अवरोध गर्ने राप्रपाको दिवा स्वप्ना पूरा नहुने भन्दै राप्रपा नेपाल उच्च मनोवलका साथ आफ्नो लक्ष्यमा पुगेरै छाड्ने दावी गरे ।
राप्रपा नेपाल झापाका जिल्ला अध्यक्ष कमल खरेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नारायण राजवंशीले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन पार्टीका केन्द्रीय सदस्य देवी दंगालले गरेका थिए ।