झापा, भदौ ७ । विप्लव नेतृत्वको नेकपासहित चार कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको सामान्य प्रभाव परेको छ।

विभिन्न माग राख्दै आज नेपाल बन्दको घोषणा गरिएको हो । केही ठाउँमा शंकास्पद वस्तुहरु भेटिएका छन् भने केही ठाउँहरुमा सवारीसाधनमा तोडफोड र आगजनी भएका छन्।

झापामा बन्दको सामान्य प्रभाव परेको छ । बन्दकर्ताहरुले सडकमा निस्किएर अवरोध नगरेपनि साविकभन्दा आज केही कम मात्रामा सवारी साधन चलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए । तर शिक्षण संस्थाहरु भने बन्द रहेका छन् । पसल बजार खुल्ला नै छन् । बन्दलाई सफल बनाउन विप्लव माओवादीका कार्यकर्ताहरुले हिजो साँझ बिर्तामोडमा राँके जुलुश प्रदर्शन गरेका थिए ।

उता काठमाडौंमा गाडीहरू निकै कम चलेका छन्। काठमाडौं र ललितपुरबाट शंकास्पद रुपमा हिडिरहेका ७ जना कार्यकर्ता पक्राउ परेका छन्। ७ जनालाई काठमाडौंका विभिन्न स्थानबाट र ललितपुरबाट एक जनालाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता टेकप्रसाद राईले जानकारी दिए।

कोटेश्वरमा एक सार्वजनिक गाडीमा तोडफोड भएको छ। यस्तै थापागाउँमा नेपाल यातायातमा पनि बन्दकर्ताले तोडफोड गरेका छन्। दुवै गाडीको सिसा फुटेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। त्यस्तै दाङमा एउटा सवारीसाधनमा आगजनी गरिएको छ । त्यहाँ दुईजना र चितवनमा तीनजना बन्दकर्ता पक्राउ परेका छन् ।

यस्तै कैलालीका दुई ठाउँमा शंस्कापद वस्तु फेला परेका छन्। कैलालीका प्रहरी प्रमुख सोमेन्द्र सिंह राठौरका अनुसार गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहना पुलस्थित ६ लेन सडकखण्ड र पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको छ। त्यस्तै बैतडीमा पनि शंकास्पद वस्तु फेला परेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्