झापा , भदौ ७ । बलिउड फिल्मका लागि चलिरहेको बोयकट ट्रेन्डले थुप्रै फिल्मलाई बर्बाद गरिदिएको छ ।

आमिर खानको फिल्म लाल सिंह चड्डा पनि बोयकट ट्रेन्डका कारण बक्स अफिसमा नराम्रोसँग फ्लप भएको छ । सोसल मिडियामा अहिले पनि थुप्रै फिल्मका लागि बोयकट ट्रेन्ड चलिरहेको छ । बोयकट ट्रेन्डमा अब बलिउडका दिग्गज अभिनेता अनुपम खेरले आफ्नो धारणा व्यक्त गरेका छन् र आमिर खानको फिल्म लाल सिंह चड्डामाथि निशाना साँधेका छन् ।
बोयकट ट्रेन्डबारे के भन्छन् अनुपम खेर ?
अनुपम खेरले समाचार एजेन्सी एएनआईसँगको कुराकानीमा भनेका छन्, ‘यदि कुनै फिल्म दर्शकलाई मनपर्छ भने कुनै पनि बोयकट ट्रेन्डले फिल्ममा नकारात्मक असर पार्न सक्दैन । बोयकट ट्रेन्डबारे विभिन्न खालका टिका टिप्पणी गरिँदै छन् । ट्विटर र सोसल मिडियामा हरेक दिन कुनै न कुनै ट्रेन्ड चलिरहेकै हुन्छ । अचानक एउटा फिल्मलाई यत्तिका महत्व किन दिइँदैछ ? तपाईंहरु किन सिधै भन्नुहुन्नँ कि दर्शकलाई यो फिल्म मन परेन भनेर ? कुनै फिल्म फेल भएको यो पहिलो घटना होइन । कुनै ट्रेन्डले एउटा फिल्मलाई बर्बाद गर्न सक्छ भनेर म कुनै पनि हालतमा स्वीकार गर्न सक्दिनँ ।’ अनुपम खेरलाई ‘लाल सिंह चड्डा हेर्ने योजना बनाईरहनुभएको छ ?’ भनेर सोधिएको प्रश्नमा उनले भने, ‘अहिले नै त हेर्ने मन छैन । तर हेर्नुपर्छ जस्तो लाग्यो भने चाहिँ हेर्छु । तर म आमिर खानलाई ‘द कश्मिर फाइल्स’ हेर्नुभयो ?’ भनेर सोध्न चाहन्छु ।’ शिमलामा आयोजित एक पत्रकार सम्मेलनमा अनुपम खेरले भने, ‘केही वर्ष अघिसम्म मानिसहरु फिल्म चलाउन केही त विवाद निस्कियोस् भन्ने चाहन्थे । इन्डष्ट्रिसँग जोडिएको नाताले म यो भन्न चाहन्छु कि राम्रो फिल्मले आफ्नो बाटो आफैँ पहिल्याउँछ । मलाई लाग्छ कि यदि हामी फिल्म लाल सिंह चड्डाबारे कुरा गरिरहेका छौँ र यदि फिल्म राम्रो छ भने बोयकट ट्रेन्डले केही फरक पार्दैन ।’‘मानिसलाई फिल्म मन नपरेको पनि हुनसक्छ । वर्ड अफ माउथ निकै महत्वपूणर् हुन्छ । ५ प्रतिशत मानिसले फिल्मलाई त्यो बयानको आधारमा बोयकट गरेको पनि हुनसक्छ जुन पहिल्यै दिइएका छन् ।’

सबैलाई आफ्नो कुरा राख्ने स्वतन्त्रता छ…
‘तर यदि यो राम्रो फिल्म हुँदो हो त जो ९५ प्रतिशतले फिल्म हेरेका थिए, उनीहरुले फिल्म हेर्न पक्कै सुझाउँथे । सबैलाई आफ्नो कुरा राख्ने स्वतन्त्रता छ । ती को हुन् ? तपाईंले भन्न सक्नुहुन्नँ । उनीहरुले पक्कै पनि यस्तो महसुस गरेका होलान् । मेरा बारे पनि धेरै नै नकारात्मक कुरा गरिएका थिए । कसैले पनि अगाडि सरेर मेरा बारे बोलेनन् । म पनि कसैको पक्षमा बोल्न चाहन्नँ भनेको होइन तर यदि तपाईं वाक् स्वतन्त्रताको कुरा गरिरहनुभएको छ भने तपाईंले पनि त्यसैगरी लड्नुपर्छ ।’ अनुपम खेरले थपे, ‘म एक अभिनेता र मानवको रुपमा आमिर खानको इज्जत गर्छु । यो फिल्म राम्रो नभएको पनि हुनसक्छ, तपाईं यो कुरा किन स्वीकार्नु हुन्नँ ? मैले फिल्म हेरेको छैन । मेरा यस्ता थुप्रै उत्कृष्ट फिल्म छन्, जुन चलेका छैनन् । मलाई लाग्छ कि मैले ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’ मा मैले असाध्यै धेरै मेहनत गरेको थिएँ तर त्यो चल्न सकेन । मेरा फिल्म द कश्मिर फाइल्सको समयमा थुप्रै ट्रेन्ड दिन दिनै चल्थे तरपनि त्यसलाई मानिसले माया गरे । हामी कसैलाई दोष दिन सक्दैनौँ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्