झापा , भदौ ८ । कतार वर्ल्डकप आउन ८८ दिन बाँकी छ ।

कतार वर्ल्डकप नजिकिँदै जाँदा नेपाली कामदारहरुमा भने एकखालको त्रास पैदा भइरहेको छ । वर्ल्डकप सकिएपछि स्वदेश फर्किनुपर्ने हो कि भन्ने त्रास त्यहाँ कार्यरत कामदारमा परेको हो । कतारमा चार लाख भन्दा बढी नेपाली कामदार रहेको बताइन्छ वर्ल्डकपपछि कतारमा आर्थिक संकट आउने र धेरै नेपाली घर फर्किनुपर्ने भन्दै धेरैलाई चिन्तित बनाइरहेको छ । तर, कतार सरकारले भने कुनै समस्या नआउने र कसैले पनि फर्किनुनपर्ने भन्दै नेपाललाई आश्वस्त पारेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहायक प्रवक्ता डा. थानेश्वर भुसालले कुनै पनि कामदारले नेपाल फर्किनुनपर्ने बताए । ‘कतारले सन् २०३० सम्मको लागि पाइलट प्रोजेक्ट मार्फत भौतिक पूर्वाधारको विकास गरिरहेको छ । त्यही अनुसार नेपाली कामदारले समेत काम गर्दै आएका छन् । वर्ल्डकपपछि कसैले पनि नेपाल फर्किनु पर्दैन,’ सहायक प्रवक्ता डा. भुसालले भने । वर्ल्डकपको लागि रंगशाला निर्माणको काम धेरै समय अगाडि नै सकिएको थियो । रंगशाला निर्माणको लागि गएका नेपाली कामदारहरू अहलिे अन्यत्र सिफ्ट भइसकेका छन् । कतारको श्रम कानूनले रोजगारी परिवर्तन गर्ने अनुमति दिइसकेको छ । सोही आधारमा धेरै नेपाली कामदारले रोजगारी परिवर्तन गर्दै आएका छन् । रोजगारी परिवर्तन गर्न नसकिने अवस्था भएको नेपाल फर्किनुपर्ने समस्या हुनसक्थ्यो । तर, अहिले रंगशालाको काम सकिएपनि अन्य काम भने निरन्तर चलिरहेको सहायक प्रवक्ता डा. भुसालले बताए । कतारले भौतिक निर्माणलाई सन् २०३० सम्मको पाइलट प्रोजेक्ट अन्तर्गत विकास गर्दै आएको छ । सोही आधारमा लाखौं विदेशी कामदारलाई काममा लगाइरहेको छ । आर्थिक वर्ष २०७७/०७८ मा २२ हजार भन्दा बढी नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि कतार गएका थिए । गत आर्थिक वर्षमा भने ३० हजार भन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि कतार पुगेको श्रम विभागको तथ्यांकले देखाएको छ । कोरोना महामारीको समयमा कतार जाने भन्दा नेपाल फर्किने कामदारको संख्या बढी थियो । तर, अहिले महामारीको अवस्था सामान्य भएसँगै जानेको संख्या बढ्दै गएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्