झापा , भदौ ८ । मोरङको सुन्दरहरैंचा-१ कुमारगाउँका विशाल बुढाथोकीले बाख्रापालन गरेर मनग्य आम्दानी गर्दै आएका छन् ।

धनकुटाबाट बसाई सरेर सुन्दरहरैंचा आएका बुढाथोकी तनमन लगाएर बाख्रापालनमा लागेका छन् । पाँच वर्षदेखि बुढाथोकीले कृषि फार्म सञ्चालन गर्दै आएका छन् । “बाख्रापालनबाट वार्षिक रु १५ लाख आम्दानी गर्न सफल भएँ”, उनले भने । उनको फार्ममा उन्नत जातका बयर, जमुनावारि र लोकल जातका गरेर ७० खसी बाख्रा छन् । सुरुआतमा बुढाथोकीले चार बाख्रा र स-साना पाठा पाठीबाट व्यावसाय थालेका हुन् । हाल उनको फार्ममा बग्रेल्ती खसी बाख्रा देख्न सकिन्छ । बुढाथोकी परिवार खसी बाख्रा र पाठापाठी खरिद बिक्रीबाट मनग्य आम्दानी आर्जन गर्दै आएको छ । बुढाथोकी जिल्लामै अगुवा र मेहनती कृषकका रूपमा परिचित छन् । उनलाई व्यवसायमा अघि बढ्न बुवा खगेन्द्रको पनि भरपर्दो साथ सहयोग रहेको छ । “गाई, भैँसी र कुखुरासमेत पालेको छु”, उनले भने। स्वदेशमै बसेर कृषि फार्म सञ्चालन गरेका बुढाथोकीले केहीलाई रोजगारीसमेत प्रदान गरेका छन् । बाह्र कक्षासम्म अध्ययन गरेका उनले फार्म विस्तारको योजना बनाए ।चार बिघा जमिनमा खेतीपाती गर्दै बुढाथोकीले खसी बाख्रा र गाई भैँसीका लागि घाँस परालको जोहोसमेत गरेका छन् । कृषि पेसाका लागि कहीँ कतैबाट अहिलेसम्म सहयोग पाउन नकसेको उनले बताए । “सरकारले अनुदान उपलब्ध गराएर युवा जनशक्तिलाई कृषि पेशामा लाग्न हौसला दिनुपर्छ”, बुढाथोकीले भने । बाख्रापालनकै आम्दानीले घरपरिवारको खर्च टारेर छोराछोरीलाई समेत शिक्षादिक्षा दिन सफल भएको उनको भनाइ छ । उनको कर्मले गाउँमा अरूलाई पनि हौसला मिलेको छ । सुन्दरहरैंचा नगरपालिकाको उत्तरतर्फ चारकोशे झाडी छ । त्यहाँ बाख्रापालन गर्न कृषकलाई सहज छ । सुन्दरहरैँचा नगर क्षेत्रमा हाल ९८ बाख्रापालनको फार्म दर्ता छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्