भदौ ८ त्यो दिन, मेरो जिन्दगीको कहिल्यै बिर्सन नसक्ने दिन थियो । जन्मथलो झापा नभएपनि कर्मथलो झापालाई बनाएर बाल्यकालबाटै मभित्र अनौठो किसिमको ऊर्जा बोकेर हिँडेको थिएँ म ।
धेरै संघर्ष र हन्डरका बीच जुन पेशा मेरा लागि दुई छाक टार्ने बाटो थियो । समाजमा रहेका बिषयमा मेरा कलम चलाउने क्रममा पछिल्ला दिनहरुमा परिवर्तनका बाटाहरु बन्दै गएका थिए । धेरै पीडितका घाउमा मल्हम लगाउन मेरो अभियान र मैले गरेको प्रयास सफल हुँदै आएको थियो । त्यो मैले भन्नुभन्दा पनि समाजले देखेको विषय हो । यतिमात्रै होइन, हरेक सरकारी कार्यालयभित्रका धेरै समस्याहरु जस्ताको त्यस्तै उठाउँदा धेरैको नजरमा म आँखाको तारो पनि बन्ने गरेको थिएँ । तर, अचानक मेरो जीवनमा त्यो ब्रजपात आइलाग्यो , जुन मैले गरेको र भोगेको भन्दा धेरै परको सोच्नै नसक्ने दृश्य थियो ।

केही दिनअघि मात्रै इलाममा सवारी दुर्घटना भएर म घरमा आराम गर्दै थिएँ । धेरै साथीहरुले मलाई स्वास्थ्य लाभको कामना गर्नुभयो । त्यसैको बीचमा अनलाइन टेलिभिजन संघको गठन प्रक्रिया अघि बढेको थियो । त्यसमा केन्द्रको सल्लाहअनुसार मलाई झापा जिल्ला अध्यक्षको जिम्मेवारी दिने निर्णय भयो । मैले त्यो समय भदौ ६ गते सबै साथीहरुबाट बधाई तथा शुभकामना पाएँ ।
नयाँ सोच र भिन्न शैलीको पत्रकारिता गर्दै थिएँ । भएको सत्य घटना देखाउँदै थिएँ ।समाजमा धेरै सुधार भएकै थियो । २०६५ सालदेखि निरन्तर पत्रकारिता गर्दै आएका सम्पूर्ण पत्रकारलाई थाहा छ । २०७० सालबाट टेलिभिजिन पत्रकारिता निरन्तर थियो । पछिल्ला केही समयअघि मआबद्ध पत्रिका, अनलाइन, अनलाइन टिभी सँगसँगै थियो । मलाई अचानक भदौ ८ गते परेको ब्रजपातसँगै मेरो १५ वर्षको परिश्रम र मेरो योगदान एकै शब्दले सक्नेगरी लाग्ने सम्पूर्णप्रति हार्दिक नमन ।
जुन घटना बाहिर आएको थियो । त्यस घटनामा मलाई लागेको आरोप अनुसार म कति संलग्न थिएँ, थिइनँ न प्रहरीले बुझ्न चाहेको थियो न सहकर्मी साथीहरुले । त्यो पीडा मेरो परिवार र केही मित्रबाहेक कसैले बुझ्न सकेनन्।

जुन स्थानमा म पुगेको थिइनँ । जुन न मैले पठाएको थिएँ । जुन व्यक्ति परिचित थिएनन् । तर, मलाई स्थलगत रुपमा पुगेको आरोप लगाएर हिरासतको कठघरामा त्यो यातना पाएँ, यो कहिले भुल्न सक्दिनँ । एउटा पत्रकार हिरासतभित्र जाँदै गर्दा बाहिर रमाउने साथीहरुको माया पनि जीवनमा कहिले भुल्न सक्दिनँ । बस, मैले अध्यक्षको जिम्मेवारी पाएको हँुदा प्रत्यक्ष रुपमा घटनाको बिषयमा सत्यतथ्य बुझ्ने प्रयास गरिरहेको थिएँ । त्यतिकैमा म प्रमुख योजनाकार भएँ । मेरो सामाजिक सञ्जालमा सो भिडियो शेयर भएको हो । सत्य कुरा तर कानुनी बाटो प्रेस काउन्सिल थियो ।

तर, हिरासतबाट जुन सजाय पाएँ, त्यो भन्दा बढी मैले मित्र चिन्ने मौका पाएँ ।
यो मेरो जीवनको सत्य घटना लेखिरहँदा मेरा हातहरुमा कम्पन आइरहेको छ । जुन समय म त्यो चिसो भुइँमा रहेको याद गर्दैछु । घटनाको बिषयमा जब मबिरुद्ध उजुरी परेछ । म अन्य कामकै सिलसिलामा प्रहरी चौकी पुगेको थिएँ । तर, अचानक मलाई लिन प्रहरी आएको समय म छाँगोबाट खसेझैँ भएँ । मलाई किन ल्याउनु भन्नु भएको सोध्दा तपाईंको नाम पनि छ भन्ने जवाफ आयो । न मलाई लानु पर्ने कारण प्रहरीसँग थियो, न त पक्राउ पुर्जी नै । ठिकै छ मैले स्वीकारेर गएँ । जाँदै गर्दा जुन मसँग लामो समयदेखि सम्पर्कमा रहेका प्रहरीका जिम्मेवार स्थानमा रहेकासँग कुराकानीमा छलफल होला । जानुस् न त भन्ने जवाफ आयो तर, भित्र अर्कै योजना बुनिएको रहेछ ।
मलाई लैजानासाथ मेरो मोबाइल खोसियो । हातमा लगाएका सम्पूर्ण सामान,ब्याग, पैसा सबै राखियो । अनि सिधै त्यो अन्धकार कठघराको ढोका खोल्यो अनि भित्र हाल्यो । न मैले किन भन्न सोध्न पाएँ ,न मसँग पक्राउ पुर्जीको आधार थियो । त्यो समय म सबैसँग सम्पर्कविहीन भएँ परिवार अनि सबैसँग । त्यो समय जिन्दगीको यस्तो दिन जुन समय दिउँसो १ बजे मेरो जीवनको अन्तिम सास जाँदासम्म भुल्न नसक्ने समय हो ।
हिरासतभित्र जिन्दगीको पहिलो भोगाइ थियो । समय अघि बढदै थियो साँझ पर्न लाग्यो । म मात्रै सोच्दै थिएँ मेरो परिवार अनि त्यो मेरो छोरी अनि । हिरासतभित्र सानो कोठामा मसहित १० जना थियौँ ।

साँझ परेपछि परिवारको नम्वर माग्यो । म हिरासतमा पुगेको परिवारलाई थाहा थिएन । अचानक फोन जाँदा परिवार मुर्छा परेछन् । पछि थाहा भयो । त्यो दिन मलाई साँझमा भेटन आउनु हुने पत्रकार महासंघ झापा अध्यक्ष, दाई सन्तोष आचार्य, ज्ञानेन्द्र निरौला,लक्ष्मी उप्रेतीसँग म भित्रैबाटै कराएँ । चिच्याएँ,रोएँ ।मलाई किन यो हालतमा पुर्याइयो खोजीदिनुस् भनँे । भोलिपल्ट बिहान मेरो परिवार मलाई खाना, कपडा लिएर भेटन आउँदा लगेको खाना खान दिइएन । कपडा राखेर बाहिर बाहिरैबाट फिर्ता पठाइयो ।

हिरासतभित्र मलाई भेटन आउने बाहेक परिवारसँग ८ दिनमा कुनै सम्पर्क हुन सकेन । जुन खाना मलाई लगेको हुन्थ्यो, परैबाट फिर्ता गरिन्थ्यो । जो ब्यक्ति मलाई भेटन पुगेका हुन्थे, अधिकांश बाटोबाटै फिर्ता गरिन्थ्यो । अनि समय समयमा जुन हिरासतमा म रहँे त्यहाँका प्रमुखको कोठामा बोलाएर चिया खुवाउने बहानामा मलाई अरु प्रहरीबाट मानसिक तनाव दिने गरिन्थ्यो । भनिन्थ्यो– प्रहरीको २–३ सय लिएको समाचार बनाउने ? सधैँ प्रहरीको खेदो गर्ने ? यस्ता यस्तै मानसिक तनाव हुन्थ्यो । म मौन थिएँ, किनकी मैले धेरै प्रहरीको कालो कर्तुत बाहिर हँुदा ल्याएको थिएँ ।
बिडम्वना ,यो थियो मेरो पत्रकारितासँगै मलाई जीवनभर सक्नेगरी लागेका केही तत्वहरुले मलाई सक्नेगरी समाचारका शीर्षकरु राखेछन् । पटक पटक भिडियो मेरो बनाउँदै समाचार प्रशारण गरेछन् । मेरै मसँगै हिँड्ने साथीहरु मेरो बिरुद्धमा लागेछन् धेरैले मलाई सक्ने खालका स्टाटस् लेखेछन् । कसरी त्यसलाई पक्राउ गर्दैनस् हेरौँ भन्दै प्रहरीलाई भनेछन् । यो नि मेरो ठुलो सफलता रह्यो किनकि ती साथीहरु चिन्ने मौका पाएँ ।

तर मेरा लागि केही अग्रज र साथीहरु ज्यान दिएर लाग्नु भयो । त्यसैको परिणाम स्वरुप म ९ औँ दिनमा बाहिर निस्कन पाएँ । नत्र मलाई बर्षौँभित्र राख्ने तत्व सक्रिय थियो । मेरा लागि सुरुबाट अन्तिमसम्म लाग्नुहुने मोहन सर, ज्ञानेन्द्र दाई म कहिल्यै भुल्न सक्दिनँ । उहाँहरु मेरो लागि अभिभावक बनेर उभिनु भयो । म आबद्ध संगठन नै मेरा लागि बोल्न डराइरहेको अवस्थामा उहाँहरु सधैँभरि परिवारसँग समन्वय गरिरहनु भयो । म हिरासतमा हुँदा मलाई भेट्न पुग्नुहुने ३० बढीको नाम म लिन नसके पनि सबैलाई मनमा राखेको छु । अनि जसले मलाई पखाल्न लाग्नु भयो । यहाँहरुको पनि सँधै कल्याण होस् । मलाई जव म्याद थपमा लाँदै गर्दा दिएको पक्राउ पुर्जी थियो, अनि सिडियो सावलाई मैले प्रश्न गरेँ– मेरो कलम भाँच्न खोज्यो साव न्याय दिनुस् तर उहाँले न्याय ७ दिन म्याद थपिदिनु भयो ।

यो त भयो हिरासत बाहिरका कुरा । जुन दिन म हिरासतमा परँे त्यो दिनदेखि ८ औं रातसम्म चिसो भुइँको बास जिन्दगीको कुन सजाय थियो । तर अन्य सामाजिक संजालमा हाल्ने बाहिर घुमिरहेका थिए । मलाई हत्कडीमा राखेर हरेक पल मानसिक तनाव दिने नेपाल प्रहरीप्रति यो मानेमा सलाम छ कि जुन दिन म आधा रातसम्म स्वास्थ्यमा देखिएको समस्याले मरेँ मरँे भन्दा पनि अस्पताल लान खोजिएन । जब म कराएँ अनि मसँगै रहेका अन्य साथीहरुले दवाव दिए अनि मात्रै प्रहरीले बिहानपख अस्पताल लग्यो । त्यो पनि दुबै हातमा हत्कडी थियो । म पेट दुखेर पुरै शिथिल थिएँ । हातले पेटमा थाम्ने समय दुवै हातमा हत्कडी थियो । अस्पताल लगियो तर उपचार गर्न परिवार नै बोलाउनु भन्यो । एक पैसा तिरेर त्यो अवस्थाको मानिसको उपचार गर्न नसघाउने प्रहरी कसरी जनताको सेवक बन्छ ? जब मेरो उपचार सुरु भयो, अस्पतालभित्र पनि प्रहरीले हत्कडी लगाइरहँदा मैले कुन अपराध गरेको रहेछु भन्ने मनभित्र खेलिरहयो ।
जुन साँघुरो कोठाभित्र चिसो भुइँ अनि बिहान ६ बजे बेलुका ६ बजे खाए खा नखाए नखा झै मोटा चामल, पानीमात्रै भएको दाल,अनि सबै भिन्डीको झोल त्यहीँ पनि पुरानो कहीले पखाल्नै नभ्याएको भाडामा देखिरहँदा मैले साँच्चै हिरासतभित्रको अनुभूति गरे । यस्तै रहेछ यहाँको चलन ।यतिमात्रै होइन गर्मी समय न हावा, न कुनै पंखा थियो । बाहिरबाट आएको एउटा टेबल पंखाको भरमा १० जना बस्नु पर्ने अवस्था थियो । कोठासँगै जोडिएको हरेक समय गन्ध आउने शौचालय सफा गर्न कति पटक माग गरियो । तर, जति दिन बस्यो ,त्यहीँ गन्धका बीचमा दैनिकी कट्यो । शौचालयमा प्रयोग गर्ने बाटा, त्यही बाटाले नुहाउनु पर्ने अवस्था । अनि वरिपरि किरा, मच्छड, रातैभर कुदिरहेको पीडा कसले सुन्थ्यो र ? आखिर यहाँको यस्तै रहेछ हिरासत अनि आफ्नो भाग्य ।पटक–पटकको प्रहरीको मानसिक तनाव, हिरासतभित्रको त्यो बसाइ । सत्यको पक्षामा आवाज उठाउने मलाई त त्यो व्यवहार हुन्थ्यो भने अन्यको अवस्था हिरासतभित्र कस्तो होला ? एक दिन त मेरो मनले अति नै भएपछि संसार भुलिसकेको थियो । कुनै दिन निन्द्रा थिएन आँखामा, न भोक थियो । मन शान्त थियो । हो, म अपराधी थिएँ भने त्यो भोगिरहँदा मलाई सहन सक्थे होला तर मलाई फसाइएको थियो

अन्ततः अझै धेरै छन् । बस यति लेख्छु नेपालका हिरासत सुधार गर्न नसके त्यहाँभित्रका म जस्ताप्रति प्रहरीले गर्ने मानसिक तनावका व्यवहार सुधार गर्न नसके हिरासतभित्र अझै लास नभेटिएलान् भन्न सकिन्न । गन्धै गन्धको शौचालयसँगै खाना खानु पर्ने अनि चिसो भुइँ, किराहरुसँगै रात कटाउनु पर्ने पीडा जीवनमा कहीले नआओस् ।
म हिरासतभित्र रहँदा मलाई अन्तरह्रदयबाट सहयोग गर्नु हुने स्थानीयदेखि केन्द्रसम्मका मित्रहरु, दाईहरु, शुभचिन्तकप्रति हार्दिक नमन अनि म हिरासतभित्र रहँदा बाहिर पाटी मनाउने खुसी हँुदै सामाजिक सञ्जालमा लेख्ने, समाचारका मुख्य शीर्षक बनाउने साथीहरुप्रति फेरि म फर्किएर आएको छु । बाँचुञ्जेल कुनै न कुनै दिन देख्छु । यही आशा गर्छु ।
……………………………………….

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्