भद्रपुर ,भदौ ८ । बिषादि न्यूनीकरण गर्दै जैविक कृषि पद्धति संचालन गर्ने उद्धेश्यले झापाको भद्रपुर ९ मा आइपीएम पाठशाला उद्घाटन गरिएको छ ।

कृषि ज्ञान केन्द्र झापा तथा चन्द्रगढी सामुदायिक बन उपभोक्ता समूहको सहयोगमा एकता मुल कृषि सहकारी संस्था लि. भद्रपुर ९ ले बुधवार घोडामारास्थित शिवालय मन्दिरमा आयोजित कार्यक्रमका बीच पाठशालाको उद्घाटन गरेको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै सहभागीहरुले परम्परागत खेतीलाई आधुनिकीकरण गर्दै कृषि उत्पादन गर्नु पर्नेमा जोड दिएका थिए ।उनींहरुले कृषि उत्पादनमा गरिने बिषादि प्रयोगका कारण मानवीय स्वास्थ्यमा नकारात्मक असर परेको बताउँदै जैविक बिषादि प्रयोग गरी कृषि उत्पादन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहेका भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले नगरपालिकाले बिषादिरहित कृषि उत्पादनलाई पहिलो प्राथमिकता दिएको बताउँदै नगरपालिकाले कृषकहरुलाई प्रोत्साहन गर्न भद्रपुरमा पहिलो पटक पशु सुत्केरी भत्ता दिने अवधारणा ल्याएको जानकारी दिए ।

उनंले बिषादिरहित कृषि उत्पादनमा संचालन गरिएको आइपीएम पाठशाला अभियानको विकास गर्दै कृषिलाई उत्पादनमुखी व्यवसायको रुपमा लिनु पर्ने बताए ।
उनले नगरपालिकाले पाठशाला संचालन गर्न प्रतिबद्ध भएर लाग्ने समेत बताए । ज्ञान केन्द्रका प्रमुख सागर विष्टले विषादिरहित उत्पादन आजको प्रमुख आवश्यकता रहेको बताउँदै पाठशाला संचालन गर्न कृषि ज्ञान केन्द्रले प्राविधिक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा भद्रपुर ९ का वडा अध्यक्ष राम दाहालले वडालाई पहिलो चरणमा खोर्सानी उत्पादनबाट आत्मनिर्भर बनाउन आफूहरु लागिपरेको बताए ।

चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दुर्गाप्रसाद भट्टराईले वनमा झारपातलगायतका कुहेर जाने पातपतिङ्गर जम्मा गरेर जैविक कम्पोष्ट मल बनाउन सकिने बताउँदै सबै कृषकहरुले जैविक मल उत्पादन गर्न चाहेमा वन समूहले सहयोग गर्ने बताए ।
कार्यक्रममा बाली संरक्षण अधिकृत रामजगन यादव , नगर कृषि शाखा प्रमुख मन्दिरा श्रेष्ठ , अर्गानिक कृषि अभियन्ता भीम कुँवरलगायतले बोल्दै कृषिमा बिषादि उत्पादनलाई बन्द गरी शुद्ध बिषादिरहित कृषि व्यवसायलाई दीर्घकालीन रुपमा लैजानु पर्नेमा जोड दिए ।

पाठशाला समिति संयोजक ईश्वर पोखरेलले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको अध्यक्षता हरिप्रसाद पराजुली र संचालन कृषि समूह सचिव युवराज ढकालले गरेका थिए । पाठशाला १६ देखि १८ हप्तासम्म चल्ने छ । कृषक समूह र सहकारीका कृषकहरुले सहभागिता जनाउने छन् । पाठशालामा कृषि ज्ञान केन्द्र झापाका प्राविधिकहरुले सेवा प्रवाह गर्ने छन् । पाठशालामा सैद्धान्तिक र व्यवहारिक दुवै पद्धतिको सिकाई हुने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्