झापा, भदौ ८ । जिल्ला प्रशासन कार्यालय झापाले अनावश्यक तामझाम, तडकभडक र खर्चिलो हुने गरी तीज कार्यक्रमको आयोजना गरे कानुन बमोजिम कारवाही हुने चेतावनी दिएको छ ।

देखासिकी गरी महिलाहरुले तीजलाई भड्किलो बनाउँदै लगेपछि प्रशासन कार्यालयले त्यस्तो चेतावनी दिएको हो । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले एक सूचना जारी गरी प्रचलित कानुनको विपरित हुने गरी कोही कसैले अनावश्यक तामझाम, तडकभडक र खर्चिलो हुने गरी तीज कार्यक्रमको आयोजना गरे ÷ गराएमा कानुन बमोजिम कारवाही हुने जानकारी दिएका छन् ।

सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावलीले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमित गरेको छ । तसर्थ आफ्नो परम्परा एवं सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने तथा संवद्र्धन गर्ने बाहेक अन्य कुनै पनि खालका खर्चिला तथा महँगा तीजसँग सम्बन्धित कार्यक्रम सञ्चालन नगर्न÷नगराउनु हुन सम्पूर्ण जिल्लाबासीहरूमा प्रजिअ रिजालले अनुरोध गरेका छन् । उनले पर्व मनाउने सन्दर्भमा अनावश्यक तडकभडक र फजुल खर्च नियन्त्रण गरी असल संस्कारको विकास गर्दै जाने कार्यमा राजनीतिक दल, नागरिक समाज, पेशागत संघ संस्थाहरू, सञ्चारकर्मीहरू र महिला सञ्जाल तथा सम्पूर्ण जिल्लाबासीहरूबाट सहयोगको अपेक्षा गरेका छन् ।

महिलाहरूको महान चाड हरितालिका तिज नजिकै आईरहेको छ । विगत केही वर्ष यतादेखि तीज मनाउने सिलसिलामा अनावश्यक तामझाम र तडकभडकसहितका खर्चिला कार्यक्रमहरू हुँदै आएको पाईन्छ । भाद्र शुक्ल द्वित्तीयादेखि सुरु हुने तीज असारको हिलो फाल्दा नफाल्दै सुरु हुन्छ । कथित सहर बजारमा साउनको आरम्भसँगै भडकिला तथा उत्ताउला पहिरनसहित दिनहुँजसो पार्टी प्यालेसमा हुने भोज भतेर, नक्कली नै सही, प्रतिस्पर्धामा महिलाले पहिरने गरगहना, अनावश्यक र अस्वाभाविक शृंगारपटारजस्ता कुराले तीज महिलाको महान् चाड हो भन्ने कुरालाई बिर्साइदिएको पाइन्छ । हुने खानेहरूलाई त यसले राम्रै गर्ला अथवा नराम्रो गरे यसको फल उनैले भोग्लान् । जसले तीजै नआई तीज मनाउँछन् । तर, हुँदा खाने नेपाली समाजका अन्य महिलालाई भने यो अनावश्यक तडकभडक र देखासिकीले नकारात्मक असर पारेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्