झापा , भदौ ९ । दुर्घटनामा परेर र करेन्ट लागेर विराटनगरमा बिहीबार दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा एकजना वृद्धा महिला र एक पुरुष छन्। कोसी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका-३ खारजीमा अटो टेम्पोले बिहान ८ः४० बजेतिर ठक्कर दिँदा सडक क्रस गर्दै गरेकी वृद्धा महिलाको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १-००२ ह ३९२ नम्बरको अटोको ठक्करबाट विराटनगर-१२ की ७७ वर्षीया हिमा निरौलाको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा बिहान ११ः४० बजेतिर मृत्यु भएको हो । दुर्घटनामा अटो चालक सुनसरीको इटहरी उपमहानगरपालिका-१० का ३८ वर्षीय गौरब कुरुम्वाङ पनि सामान्य घाइते भएका छन् । चालकको विराटमै उपचार भइरहेको छ । त्यस्तै विराटनगर-११ रामपुर चोकस्थित एउटा कपडा फ्याक्ट्रीमा कार्यरत एकजनाको करेन्ट लागेर मृत्यु भएको छ । केशरी निपेट वर्कशप कपडा फ्याक्ट्रीमा मिस्त्रीका रूपमा कार्यरत विराटनगर-१ पोखरियाका ५५ वर्षीय लालबिहारी कामतको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार काम गर्ने क्रममा बिहान १०ः३० बजेतिर मेसिनबाट अचानक करेन्ट लागेर कामत गम्भीर घाइते भएका थिए । उपचारका क्रममा कोसी अस्पतालमा बिहान ११ः१० बजेतिर मृत्यु भएको डीएसपी श्रेष्ठको भनाइ छ । घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्