झापा, भदौ ९ । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बिर्तामोडको अध्यक्षमा राजकुमार राजवंशी निर्वाचित भएका छन् ।

बिहीवार भएको परिषदको तेस्रो नगर अधिवेशनबाट अत्यधिक मत ल्याई राजवंशी निर्वाचित भएका हुन् । राजवंशी समाज विकास समितिका प्रतिनिधि राजवंशीले ११ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेवा देय दवुका छत्रबहादुर श्रेष्ठले मात्र एक मत प्राप्त गरेका थिए । निर्वाचनमा नगरका १२ वटा जातीय संस्थाले भाग लिएका थिए ।
त्यस्तै अधिवेशनबाट उपाध्यक्षमा दिपेन्द्र चौधरी , कविता मगर , सचिव सन्तोष बेघा लिम्बू , सहसचिव दिलकुमार मुखिया , निताई सोरेन ,लीलाबहादुर गुरुङ र कोषाध्यक्षमा गणेशबहादुर तामाङ चयन भएका छन् ।त्यस्तै सदस्यहरुमा सुकु राई , धनन्जय गणेश ,कैलाश भुजेल र हेमराज मेचे चुनिएको निर्वाचन समितिका संयोजक पदमबहादुर तामाङले बताए । उनले अध्यक्ष पदका लागि निर्वाचन भएको र अन्य पदहरु सर्वसम्मत भएको जानकारी दिए । तामाङको संयोजकत्वमा राधा सुब्बा , कृष्ण उदास , अर्जुन राई र सुरेन राजवंशी सदस्य भएको निर्वाचन समिति गठन गरिएको थियो ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष भरतकुमार श्रेष्ठले सो अधिवेशनको उद्घाटन गरेका थिए । नगर अध्यक्ष गोपाल राईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बा , बिर्तामोड ५ का निवर्तमान वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन , वडा सदस्य ओमभक्त सेडाई , तामाङ घेदुङका हस्तबहादुर तामाङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा अध्यक्ष राईले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष अर्जुन भुजेलले आर्थिक प्रतिवेदन प्रसतुत गरेका थिए । कार्यक्रममा खेलाडी कुशल मेचे , सल्लाहकार संयोजक प्रेम घिसिङलाई सम्मान गरिएको थियो भने अन्य सल्लाहकार सदस्यहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा जातीय संस्थाका अगुवाहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो । उपाध्यक्ष राजकुमार राजवंशीले स्वागत गरेको कार्यक्रमको संचालन शिवन सोराली मगरले गरेका थिए ।