प्रसंग हो बिर्तामोड निवासी मेरा अनन्य मित्र विरु दर्नालद्वारा संचालित गोर्खा टेलरिङको । त्यसदिन म मेरो मित्र विरुजीको नयाँ अनलाईन न्यूज पोर्टल ‘गोर्खा पोस्ट’ सुरुवात गर्नुभएकोले उहाँलाई शुभकामना दिन गएको थिएँ ।
केही नयाँ गर्ने सोच राख्ने मेरो अभिन्न मित्र विरुजीलाई उहाँले नयाँ उद्यमको स्थापनाको शुभकामना जाहेर गरेर उहाँको तत्कालीन कार्यालय गोर्खा टेलरिङमा बसी चिया पिउँदै केही रमाइला गफ गर्दै थियौं । मेरो नजर टेलरिङको कामदार एकजना वृद्ध काकामाथि पर्यो । काका पसलको चेन्जिङ रुमको छेउमा पंखामुनि कार्पेटमा बसेर आफ्नो काम गर्दै हुनुहुन्थ्यो ।
मैले याद गरे कि काकाले कैंचीद्वारा कपडा काटेर कैंचीलाई खुट्टाले च्यापेर राख्नुहुन्थ्यो । फेरिे सियोले कपडालाई सिलाएपछि सियोलाई आफ्नो टोपीमा उन्ने गर्नुहुन्थ्यो । धेरै बेरसम्म बस्दा काकाले यो प्रक्रिया ४-५ पटक गरेको देखेपछि मनमा उत्सुकता जाग्यो र धैर्य गर्न नसकेर काकालाई भने, ‘काका, म तपाईंलाई एउटा कुरा सोध्न सक्छु ?’
काकाले भन्नुभयो, ‘भन्नु न बाबु, के सोध्न चाहनुभयो ?’
मैले सोधेँ, ‘काका, मैले अघिदेखि नै हेरिरहेको छु , तपाईंले कपडा काट्नुहुन्छ, त्यसपछि कैंचीलाई खुट्टामा च्यापेर राख्नुहुन्छ, र कपडा सिलाएर सियोलाई शीरको टोपीमा सिउरिने गर्नुहुन्छ । यस्तो किन ?’

आफ्नो जीवनको अनुभवबाट होला, दुईचार कक्षा मात्र पढेका ती वृद्ध काकाले जुन जवाफ दिनुभयो, त्यो छोटो भएता पनि त्यसले जिन्दगीको सबै सार सम्झाई दियो । उत्तर यस्तो थियो, ‘बाबु, कैंचीले काट्ने काम गर्छ र सियोले जोड्ने काम गर्छ । हाम्रो समाजमा पनि एकअर्काको कुरा काट्ने, खुट्टा तान्ने र घृणा फैलाउनेहरुको स्थान हमेसा तल हुनुपर्छ र एकअर्कामा जोड्ने आपसी भाइचारा र प्रेमको सन्देश दिनेहरुको स्थान हमेसा माथि यानिकि शीरमाथि हुनुपर्छ । काट्नेको स्थान तल हुन्छ र जोड्नेको स्थान सदैव माथि हुन्छ । यही कारणले म सियोलाई टोपीमा सिउरिएर राख्छु , र कैंचीलाई खुट्टा मुनि दबाएर ।’
……….
बचपनमा बुवाले भनिबक्सेको वचन सम्झिएँ ।
‘कसैलाई कहिल्यै पनि नसोध्नु कि ऊ कलेज गएका छन् कि छैनन् भनेर, उनी स्वयंम्मा एउटा विश्वविद्यालय हुन सक्छन् ।’
गोर्खा टेलरिङको त्यो भेट हामी मित्रद्वयलाई एउटा जीवित विश्वविद्यालय (सायद बुवाले भनेको विश्वविद्यालय ती काका पनि हुनसक्छन् ) !

मित्र विरु दर्नालज्यू एवं समस्त गोर्खा फाउन्डेसन परिवारलाई गोर्खा टेलरिङको सातौं वार्षिकोत्सवको उपलक्ष्यमा हार्दिक बधाई तथा आउँदा दिनहरूमा अझ प्रगतिको शिखर चुमेको देख्न पाऊँ भन्ने हृदयदेखि शुभकामना दिन चाहन्छु । साथै गोर्खा फाउण्डेशनले वीरता मिडिया हाउसको माध्यमद्वारा सूचना र संचारको क्षेत्रमा पनि काम गर्न थालेको वर्ष दिन भैसकेको छ । यो अर्को सुखद उपलब्धि भएको मैले बुझेको छु । युगौंसम्म सियो बनेर अघि बढिरहोस् गोर्खा टेलरिङलाई शुभकामना !!!

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्