कुमरखोद, भदौ १० । झापा गाउँपालिका वडा नं १ बाट स्रोत नखुलेको १३ लाख ६० हजार रकमसहित एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा गाउँपालिका वडा नं १ लसुना बोर्डर घर भएका ५४ वर्षिय तेजबहादुर गणेश रहेका छन् ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी नायव निरीक्षक प्रविण भट्टराई नेतृत्वको टोलीले आज बिहान ११ः ४५ बजे लसुना बोर्डरबाट गणेशलाई रकमसहित पक्राउ गरेको हो । लसुना बोर्डरमा प्रहरी टोली देखेपछि गणेश नजिकै रहेको आफ्नो घरतिर भागेका थिए । गणेशलाई घर नजिकैबाट रकमसहित पक्राउ गरिएको हो ।

पक्राउ परेका रकममा १००० को नोट ९०० वटा , ५०० को नोट ८०० वटा र १०० को नोट ६०० वटा रहेको जनाइएको छ । पक्राउ परेका गणेशलाई कुमरखोद ईलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय ल्याउने काम भईरहेको प्रहरीले जनाएको छ ।