पथरी, भदौ १२ । किरात राई यायोक्खासम्बद्ध कार्यकर्ताहरुलाई आगामी मंसिर ४ गते हुने निर्वाचनमा ‘किरात’ प्रदेश मान्ने र लाग्ने उम्मेद्वारलाई भोट दिन निर्देशन दिइएको छ ।

यायोक्खा मोरङको पथरीशनिश्चरे नगर समितिको भएको सातौँ अधिवेशनलाई सम्बोधन गर्दै नेताहरुले यस्तो निर्देशन दिएका हुन्। कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका यायोक्खा केन्द्रीय सचिव अर्जुन जम्नेली राई, यायोक्खा मोरङ जिल्ला अध्यक्ष नरहाङ राई, जिल्ला सदस्य काशिहाङ राईलगायतले बोलेका थिए ।

पाँच बर्षमा प्रदेश १ मा बनेको तीन वडा सरकार र प्रदेश सभाले १ नं. प्रदेशको नाम राख्न नराख्नुको कारण अब हुने मंसिर ४ गतेको संघीय र प्रदेश तहको चुनावमा १ नं प्रदेशको नाम किरात राख्न पहल गर्नेलाई मात्र भोट दिनुपर्ने वक्ताहरुले औल्याएका छन् ।
उनीहरूले उक्त निर्वाचनमा पार्टीले ल्याउने घोषणापत्रमा पहिचान वा किरात प्रदेश छ–छैन र किरात प्रदेश उल्लेख भए प्रतिबद्धताबारे सोधेर मात्र भोट हाल्न सुझाएका हुन्।

किरात एउटा जाति नभएर समग्रमा भूगोल, इतिहास, सभ्यता भएकोले प्रदेशको नाम राखिनुपर्ने माग गरेका थिए। पछिल्लो १९ बर्षदेखि (छैठौं) महाधिवेशनदेखि १ नं. प्रदेशको नाम किरात राख्न यायोक्खाले गाउँगाउँबाट अभियान र आन्दोलनहरु सञ्चालन गर्दै आएको छ ।
नेपालमा २००७ सालको क्रान्ति नायक रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न पनि माग गरिएको कार्यक्रममा नगर सम्मेलन आयोजक समितिका संयोजक प्रेमकुमार राईले भावी कार्ययोजना, सचिव निर्मला राईले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रामबहादुर राईले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

यायोक्खाको भदौ १७–१८ गते मोरङ जिल्ला अधिवेशन पथरीमा र असोज ८–१० गते काठमाडौंमा यायोक्खा ११ औं महाधिवेशन हुने यायोक्खा केन्द्रीय प्रचारप्रसार बिभाग प्रमुख अर्जुन जम्नेली राईले बताए ।

यसैबीच, पथरीशनिश्चरे नगर समिति अध्यक्षमा प्रेमकुमार राई पुनः सर्वसम्मत चयन भएका छन्।
किरात राई यायोक्खा पथरीशनिश्चरे नगर समितिको शनिबार सम्पन्न सातौं नगर अधिवेशनले पुनः प्रेमकुमार राईसहित नयाँ कार्यसमिति चयन गरेको हो ।
राई गत कार्यकालमा पनि अध्यक्ष थिए । समितिको उपाध्यक्षमा प्रेम चाम्लिङ राई, रामबहादुर राई सचिवमा निर्मला राई, कोषाध्यक्षमा रुवाधन राई, सहकोषाध्यक्षमा उमेश राई सर्वसम्मत चयन भएका छन् ।

सदस्यहरुमा दिपकुमार राई, कमल राई, देउमान राई, आशबहादुर राई, थिरकुमार राई, बिशाल राई, पञ्चबहादुर राई, सन्तप्रसाद राई, गजेन्द्र राई, मदन राई , ध्यानबहादुर राई, कृष्ण राई, देवीमाया राई, गम्बा रुम्दाली राई र खड्गबहादुर राई सदस्यमा सर्वसम्मत चयन भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्