झापा, भदौ १२। आफूलाई पत्रकार हुँ भन्दै मादक पदार्थ सेवन गरी कचनकवल गाउँपालिकाको कार्यपालिकाको बैठकमा गएर अभद्र व्यवहार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कचनकवल ६ बनियानीका निश्चल दाहाल रहेका छन् । आइतवार कार्यपालिकाको बैठक चलिरहेका बेला बैठकस्थलमा पुगेर उनले अभद्र व्यवहार गरेका थिए ।

आफूलाई जनसवाल मिडियाको प्रतिनिधि बताउने दाहालले बैठकस्थलमा गएर जनप्रतिनिधिहरुलाई अन्तर्वार्ता दिन आग्रह गरेका थिए । बैठक चलिरहेकाले एकछिन पर्खन आग्रह गर्दै आफूहरुले हलभित्र बैठक गरिरहेका बेला उनले ढोकामा लातीले हानेको गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले बताए । त्यसपछि ढोका खोल्दा उनले तथानाम भनेपछि प्रहरी बोलाएर पक्राउ गर्न लगाएको उनले जानकारी दिए । पक्राउ परेका दाहालले अभद्र व्यवहार गरेको भन्दै आइतवारको कार्यपालिका बैठकले कार्वाही गर्न प्रहरीलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

दाहालले मादक पदार्थ सेवन गरेको प्रमाणित भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी बसन्त पाठकले बताए । हिरासतमा रहेका दाहाललाई अभद्र व्यवहार कसूरमा मुद्धा चलाउने तयारी गरिएको उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्