बिर्तामोड , भदौ १३ । स्थानीय तहको निर्वाचनदेखि नैै मतदाताले नयाँ अनुहार खोजीे गरिरहेकाले नयाँ सोच र भिजनका साथ आफूले झापा क्षेत्र नं २ बाट उम्मेदवारी दिन लागेको उद्योगी तथा समाजसेवी छत्रबहादुर गिरीले बताएका छन् ।

केही दिनअघि पत्रकार सम्मेलन गरी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेका गिरीले खासगरी युवालक्षित आफ्नो उम्मेदवारी रहने बताए । प्रतिदिनसंग कुराकानी गर्दै नेपाली कांग्रेसको प्रवद्र्धन तथा लगानी बोर्डको सदस्यसमेत रहेका समाजसेवी गिरीले स्थानीय तहको निर्वाचनमा जनताले प्रकट गरेको मागप्रति सबै राजनीतिक दलहरुले मनन गर्नुपर्ने बताए । ‘मतदाताहरुले नयाँ उम्मेदवार खोजिरहेका छन् , उम्मेदवारमा नयाँ भिजन खोजिरहेका छन्’ उनले भने‘त्यसकारण अब राजनीतिक दलहरुले फेरि त्यही पुरानै अनुहार दोहोर्याउनु हुँदैन ।’

झापा क्षेत्र नं २ बाट गिरीले उम्मेदवारी दिने आकांक्षा व्यक्त गरिरहँदा सोही पदमा पार्टीका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी , अर्का केन्द्रीय सदस्य सरिता प्रसाई र पूर्व केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले पनि इच्छा व्यक्त गरिरहेको बताइन्छ । त्यसमध्ये बुढाथोकी बलियो आकांक्षी हुन् । यी तीनैजनाले यसअघि निर्वाचन लडिसकेका छन् ।

नाताभित्र पर्ने बुढाथोकीलाई राजनीतिक अभिभावक मानेर आफूले उम्मेदवारी दिन लागेको गिरीले बताए । ‘पञ्चायतकालदेखि राजनीति गर्नुभएको उहाँसंग लामो अनुभव छ, सांसददेखि मन्त्री पनि बनिसक्नु भयो’ गिरीले भने‘उहाँले चुनावी माहौल बनाइदिएपछि मेरो उम्मेदवारी रहन्छ ।’ गिरीबन्धु टी इस्टेटका संचालक गिरीले अर्थतन्त्र मजबुद बनाउन देशलाई औद्योगिकरण गर्ने आफ्नो मुख्य उद्धेश्य रहेको बताए । रामबाबु प्रसाई नेपाली कांग्रेसको जिल्ला सभापति हुँदा २०४२ सालमा उनी जिल्ला सदस्य भएका थिए ।त्यस्तै उनी दुई पटक नेपाल परिवार नियोजन संघका केन्द्रीय सभापति पनि भएका थिए । राष्ट्रिय सभाको सदस्यमा उठ्ने अवसर प्राप्त हुँदा गिरीले परित्याग गरी गंगा बाँस्तोलालाई छोडेका थिए । पहिलो पटक आफू सार्वजनिक पदमा उठ्न लागेको उनले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्