भद्रपुर, भदौ १३ । मेची नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा भद्रपुर नगरपालिका–३ रंगिलाचोक निवासी भुपाल भुजेलका १९ वर्षीय छोरा सामुएल भुजेल रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी बसन्त पाठकले जानकारी दिए।
प्रहरीका अनुसार सोमबार दिउँसो साढे ४ बजे भद्रपुर–५ स्थित नर्सिङ बगान नजिकैबाट मेची नदी पौडिएर भारत जान खोज्दा सामुएललाई नदीले बगाएको हो।
सामुएलसँगै उनका साथी पनि थिए। दुवै जना नदीमा पौडी खेलेर भारततर्फ जान लाग्दा एक जनालाई बगाएर बेपत्ता बनाएको डीएसपी पाठकको भनाइ छ।
उनको खोजी कार्य जारी छ। भद्रपुरदेखि पाठामारीसम्म सशस्त्र, नेपाल प्रहरी र स्थानीयबासीले खोजी गरिरहेका छन् । भारी वर्षापछि मेची नदीमा पानीको बहाव बढेको छ।