झापा , भदौ १४ । यसै वर्ष अस्ट्रेलियामा आयोजना हुने आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी नेपाल आइपुगेको छ ।
विश्वकप ट्रफी विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्याइने क्यानका जनरल म्यानेजर वृत्तान्त खनालले जानकारी दिए । उनका अनुसार मंगलबार बिहान सगरमाथाको काखमा रहेको गोक्यो तालमा विश्वकप ट्रफी प्रदर्शनी गरिनेछ भने बुधबार बिहान भक्तपुर दरबार स्क्वायर ट्रफी प्रदर्शनीमा राखिने छ । क्रिकेट प्रेमीले सर्वसाधारणले पनि ट्रफी हेर्न र तस्बिर खिच्न पाउने छन् । ‘ट्रफी टुर’ अन्तर्गत विश्वकप ट्रफी नेपाल ल्याइएको हो । टी-ट्वान्टी विश्वकप ट्रफीलाई विश्वका विभिन्न मुलुकको भ्रमण गराउने क्रममा नेपाल ल्याइएको हो । टी-ट्वेन्टी विश्वकप क्रिकेटको सय दिने काउन्टडाउन सुरु गर्दै ट्रफी विभिन्न मुलुकमा भ्रमण गराइएको हो । गत जुलाईमा अस्ट्रेलियाको मेलवर्नमा सय दिने काउन्टडाउनसँगै ट्रफी टुरको शुभारम्भ गरिएको थियो ।




