मेचीनगर, भदौ १४ । तेस्रो पटक झापा–१ को उम्मेद्वार बन्ने इच्छा राखेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूले तेस्रो पटकको ट्रायल अबश्य पास गर्ने दावी गरेका छन् ।

वीरता मिडिया हाउस प्रालिद्वारा संचालित गोर्खापोष्ट डेली डटकम अनलाइनको आज बिर्तामोडमा औपचारिक रुपमा उद्घाटन गर्दै शर्माले तीन चोटी ट्रायल फेल हुने कुरामा आफ्नो चाहना नरहेको बताए । त्यसकारण राम्रो हिसाब किताब गरेर मात्रै निर्वाचनमा उठ्ने उनको भनाई थियो ।

‘काट्नेले तीन पटकमा अबश्य राँगो छिनाउँछ’ उनले भने,‘ तीन पटकमा आफू पनि कसो नजितिएला र ।’ पार्टीभित्र प्रवक्ता अनि त्यसपछि महामन्त्रीको जिम्मेवारी थप्दै गर्दा निर्वाचनमा भने पटक पटक हार्नु आफ्नो लागि राम्रो कुरा नभएको उनले बताए । निर्वाचनमा उम्मेदवार बन्ने विषय आन्तरिक छलफलमै रहेको बताउँदै उनले त्यसबारे गठबन्धनमा पनि कुरा भइरहेको जानकारी दिए । अघिल्लो निर्वाचनमा जुन पार्टी जहाँबाट जितेको थियो ,सोही ठाउँमा त्यही पार्टीका उम्मेदवारलाई यस पटक टिकट दिने गठबन्धन दलबीच मापदण्ड बनेकाले आफूले टिकट पाइहाल्ने निश्चित भईनसकेको बताउँदै उनले यदि निर्वाचनमा उठ्न पाए झापा क्षेत्र नं १ बाटै उम्मेदवारी दिने घोषणा गरे । २०७४ को निर्वाचनमा गठबन्धन दल माओबादीका राम कार्कीले त्यस क्षेत्रमा निर्वाचन जितेका थिए । २०७४ को संघीय निर्वाचनमा कांग्रेसका उम्मेद्वार शर्मा बाम गठबन्धनका उम्मेद्वार राम कार्कीसँग पराजित भएका थिए । त्यसअघि उनी संविधानसभाको निर्वाचनमा एमालेका रविन कोइरालासंग हारेका थिए ।

गोर्खापोष्ट डेली डटकम अनलाइनका अध्यक्ष वीरु दर्नालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण हुमागाई , नेकपा एमालेका जिल्ला सदस्य देवराज कार्की , नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी , नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य गोविन्दचन्द क्षेत्रीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा पत्रकारहरु नकुलकाजी पाण्डे , राजबाबु शंकर र भारती राईलाई पुरस्कृत गरिएको थियो । अनलाइनका सम्पादक राजेन्द्र गौतमले स्वागत गरेको कार्यक्रमको संचालन संचारकर्मी लीला अनमोलले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्