हरेक बर्ष कुशे औशी बुबाको मुख हेर्ने दिन आएपनि प्रायजसो बुबासंगै भईने हुनाले कहिल्यै खास महत्वको लाग्दैन । तर, बुबाको विराटता अनि बिशालता सँधै बिशेष र खास महत्वको छ । नियतिले ४० बर्षको उमेरमा आमालाई चुडेर लगेपनि त्योभन्दा ५ बर्ष पहिलेदेखि नै ब्रेनट्युमरको अपरेसनपछि आमा प्यारालाईसिस भएपछि करिब–करिब अहिलेको मेरै उमेरबाट सुरु भएको बुबाको एक्लो संघर्ष–सन्तानको खुसी, सुख र संबृद्धिका लागि आज पर्यन्त जारी नै छ ।ऊर्जा,उत्साह,सहनशीलता,ईमान्दारीता र संघर्षका लागि हाम्रो प्रेरणाको स्रोत बुबा नै हो । सन्तानको भबिष्य, उन्नति, प्रगती र खुसीलाई नै आफ्नो खुसी ठानेर आफ्ना ब्यक्तिगत रहर इच्छा चाहनाहरुलाई त्याग गर्नसक्ने बुबाको योगदान, माया र भावनाको ब्याख्या शब्दमा त गर्न सकिदैन । यद्यपि आफ्नो यो बिशेष पबित्र दिनमा बुबाप्रति समर्पित गर्दै यो प्रसंग उल्लेख गर्न चाहन्छु ।

२०६२ साल पौषमा आमाले धर्ती छोड्नुभयो । फागुनमा छोरी जन्मिईन्
।मैले बीए सकेको थिएँ । उमेर २०÷२१ बर्षको थियो ।त्यो बेला म हिलेमा मनकामना बोर्डिङ स्कूलमा पढाउँथे । भाइ त्यो बेला धनकुटामा १०+२ पढ्दै थियो । घरमा सानी छोरी, अर्धाङ्गिनी अनि बुबालाई छोडेर म २०६३ बैशाख अन्तिममा काठमाण्डौ हिडेँ । रत्नराज्य क्याम्पसमा एमए अंग्रेजीमा एड्मिसन गरेको थिएँ । कतै बोर्डिङ पढाउँदै दाजुभाइ संगै बसेर पढ्ने लक्ष्य थियो । किर्तिपुरमा युवराज दाई र प्रेम दाई हुनुहुन्थ्यो । उहाँहरुसंग बसेँ ।काठमाण्डौ पुगेको दिनदेखि बिज्ञापन हेर्दै स्कूलमा आवेदन दिन थालेँ र बिहानको टाईममा क्याम्पस पनि गईरहेँ ।
त्यस्तै क्याम्पस गएको तेस्रो दिन हुँदो हो । परिचयकै क्रममा एउटा संगै बेन्चमा बस्ने साथीलाई आफू पढाउन स्कुल खोजिरहेको कुरा सुनाएँ ।त्यसको १ घण्टापछि त्यो साथीले सेरेन हिल सेकेण्डरी बोर्डिङ स्कुलमा माविको लागि एपीएच पढाउने शिक्षक आवश्यक छ, त्यहाँ जानु भन्यो । म कलेज सकेर त्यही दिन साँखु जान हिडेँ । उही साथीले बताएअनुसार रत्नपार्क गएर रमपम ४ नम्बरको माईक्रो चढेँ । काठमाण्डौमा म नयाँ थिएँ । साँखु त टाढै रहेछ । चाबहिल आइपुगेदेखि साँखु कतिबेला पुगिन्छ भनेर सोध्दासोध्दा बल्लबल्ल सुन्दर हरियाली बीचमा रहेको स्वस्थानीमा बर्णित पबित्र सालि नदी किनारको शंखरापुरनगर साँखु आईपुग्यो । मलाई झण्डै झण्डै धनकुटै पुगेजस्तो लागिराथ्यो ।

उक्त स्कूलमा प्रिन्सिपल बुद्धि कार्की सरसंग भेट गरेँ ।उहाँले ९ र १० कक्षालाई पढाउन लगाउनु भयो । जागिरको प्रेसर भएपनि डर लागेन । किनभने त्यहाँ पढाएर मसंग आफूलाई पढ्नको लागि समय हुँदैनथ्यो । म कलेज जान भ्याउँदैनथे ।म आफ्नो अध्ययन अनि जागिर संगै लैजान मिल्ने वातावरणको खोजीमा थिएँ ।त्यसकारण खासै स्कूलले नबोलाईदिए हुन्थ्यो जस्तो लागेको थियो । २ दिनपछि उक्त स्कूलको प्रिन्सिपलले मलाई फोन गर्नु भयो र पढाउन आउनु भन्नुभयो र ६५०० तलब दिने कुरा गर्नुभयो । तर, म दोधारमा परेँ। नजाउँ त्यति सजिलै आफ्नै प्रयासमा काम पाएँ, धनकुटाको हिलेमा निमाविमा मात्र पढाएको थिएँ । त्यहाँ मावि तलब पनि ठिकै थियो । पढाउन जाउँ मेरो पढाई संगै लान सक्ने अबस्था हुँदैनथ्यो ।फेरि साँखु टाढा पनि थियो । कलेज जान पाउने अबस्था थिएन। तर, जानुपर्छ । बीचमा अन्य कुराहरु मिलाउँदै गरौंला भनेर मैले पढाउन जाने निर्णय गरे ।

भाइको प्लस टु सकियो ।साउनमा भाइलाई काठमाण्डौ बोलाएँ । कोठा खोजेर दाजुभाइ बस्न थाल्यौं ।सुमना दिदी जो मेरो लागि सधै श्रद्धेय र सम्मानको पात्र हुनुहुन्छ ।उहाँकै घरछेउमा कोठा थियो ।भाइको कलेज सुरु भएको थिएन । म बिहानै स्कुल हिड्थें । बेलुका मात्र फर्कन्थेँ । एउटा मोबाईल थियो । त्यो भाइलाई छाडिदिन्थेँ र स्कुलबाट दुई–तीन पटक फोन गर्थेँ । दिनभरि एक्लै कोठामा ऊ पनि पत्रिकामा हेर्दै जब अप्लाइ गर्न थालेछ । मैले त्यस्तो नगर भनेँ । तर, उसले मलाई तँ दिनभरि काम गर्छस् तेरो पनि करियर छ तेरो यो अबस्थामा म चाहिँ कसरी आनन्दले पढ्न सक्छु ? त्यसैले म पनि काम गर्छु भन्यो । त्यो कुराले मलाई असह्य बनायो किनभने म साँखुमा पढाउँदै आफू तत्काल एमए सक्न नसके पनि भाइ पढ्छ भन्ने बिश्वास थियो। भाइ १२ कक्षा सकुन्जेलसम्म कहिल्यै दोस्रो भएको थिएन । म त्यसको निरन्तरमा हरतरहले सहयोग गर्छु भन्ने थियो ।तर, जब मैले बुझे भाइको करियरप्रति म जति चिन्तित छु ,त्योभन्दा बढी भाइ मप्रति चिन्तित छ भन्ने बुझेपछि अब भाइ पनि काम नगरी छाड्दैन म पनि काम, हामी दुबैको अध्ययन सोचेजस्तो अगाडी बढ्दैन भन्ने मलाई लाग्यो र मैले आफ्नो बाटो बदल्ने निर्णय गरेँ ।

दशैमा घर आएपछि भाइ घरमै बस्यो । त्यति बेलासम्म भाइको १२ को रिजल्ट आएको थियो। भाइले भाषा उच्च मावि ब्याच टप ग¥यो ।डा. बिनोद गुरागाई (हाल प्राध्यापक अमेरिका) मेरो प्रिय साथी उसले टियु टप गरेको थियो र भाइ उसैलाई आदर्श मान्दै उसकै पत्रिकामा छापिएको फोटोको कटिङ आफ्नो डायरीमा राख्थ्यो ।पौषमा आमाको बर्ष दिनको काम गर्न म घर आएँ । भाइ घरमै थियो ।छोरी हुर्कदै दिईन् । श्रीमती खुसी नै थिईन् । सायद एक्लोपन महसुस गर्दै बेखुसी हुने फुर्सद पनि थिएन ।न त दुखेसो र गुनासो । घरमा फोन थिएन । माथि राजु दाईकोमा थियो । १५ दिनमा १ पटक कुरा हुन्थ्यो । वरिपरि सबैजनाको अगाडी बोल्नुपथ्र्याे । ‘के छ सन्चै छ ? नानीलाई कस्तो छ’ यस्तै यस्तै पुरै औपचारिक ।

बर्ष दिनको काम सकेर म काठमाण्डौ फर्किन लागेँ । भाइ कलेज लागेपछि मात्र आउने भयो । हिलेबाट चण्डिका ट्राभल्स रात्री बस दिनको १ बजे काठमाण्डौको लागि छुट्थ्यो । बुबा हिलेसम्म पु¥याउनु आउनु भयो ।गाडी छुट्ने समय अलिकति बाँकी थियो । हिले बजारको बीचतिरको एउटा मिठाई पसलमा बुबा र म गफ गरेर बस्यौं । मैले २ वटा रसबरी खाएँ । बुबालाई मैले आफ्नो बदलिएको योजना सुनाएँ र बुबालाई हालकै अबस्थाबाट आफू पनि पढाई अगाडी बढाउन नसक्ने र भाइको पनि उस्तै अबस्था हुने हुँदा आफू थाकेको र अब बिदेश जान्छु भनेँ ।आमाको उपचार र ५ बर्षसम्म प्यारालाईसिस भएर आमा थलिँदा घरको अबस्था नाजुक बनेको थियो । आवश्यकता र अबस्थाले अब यही बाटो नै उपयुक्त हुने कुरा मैले बुबालाई सुनाएँ ।बुबाले ‘सजिलै अहिले नआत्तिनु ,केही बितेको छैन ,२÷४ बर्ष अरु संघर्ष सकिन्छ बिस्तारै सबै राम्रो हुन्छ ,हरेस नखाऊ अहिले मलाई केही चाहिएको छैन’ भन्नुभयो ।प्रेमले सम्झाउनु भयो ।अब फेरी म नयाँ उमंग,जोश र उत्साह लिएर काठमाण्डौ हिडेँ । संयोग मान्नुपर्छ हिलेमा सधै चण्डिका ट्राभल्स हुन्थ्यो त्यो दिन न्यू चण्डिका ट्राभल्स थियो ।अर्को महिना माघमा सशस्त्र प्रहरी निरीक्षक भर्ना खुल्यो । हाल अ.प्रा÷.प्र.ना.म.नि.दिनेश अमात्य सर त्यो बेला डिएसपि हुनुहुन्थ्यो उहाँले मलाई फर्म खुलेको र फर्म भरेर तयारी गर्न सुझाउनु भयो । म त्यसकै तयारीमा लागे अर्कोतर्फ साँखुबाट स्कुल बदली गर्ने तयारी गरे । स्कुल बदली गर्न शैक्षिक सत्र सक्नु पथ्र्याे ।बीचमा स्कुल छाड्दा तुरुन्तै शिक्षक नपाईने हुँदा स्कुलप्रति धोका हुन्थ्यो ।फलामे ढोका भनेर चर्चित एसएलसीकै जमाना थियो ।शैक्षिक सत्र सकिएपछि चैत्रबाट पुरानो बानेश्वरस्थित द सिटी एकेडेमीमा पढाउन थालेँ । उता सप्रनिको छनौट परीक्षामा पनि सहभागी भईरहेको थिएँ । सप्रनिमा छनौट नभएपनि काम गर्ने स्कूल र आफ्नो कलेज नजिकै भएकोले अब आफ्नो गन्तब्य त्यति टाढा छैन भन्ने आत्मबिश्वास बढेको थियो । सप्रनि छनौटका बिभिन्न चरणका परीक्षाहरु पास गर्दै गएपछि त्यता पनि भईन्छ भन्ने आत्मबिश्वास बढ्दै गयो ।अन्ततः सशस्त्र प्रहरी निरीक्षकमा छनौट भई नियुक्ति लिएँ ।यहिबाट जीवनको दोस्रो घुम्ती सुरु भयो ।

भाइले सहज ढङ्गले पढ्यो ।नेपाल कमर्स क्याम्पस मिनभवनबाट ब्याच टप गर्दै बिबिएस सक्यो । निजामतीको लेखा अधिकृतमा नाम निकाल्यो । २ बर्षको अध्ययन छात्रबृत्ति पाएर जापान गयो । एमबिएस,एमपिए,एमबिए र एलएलबि ग¥यो र मेहनत गरिनैरहेको छ अगाडिको केरियरको लागि ।यो सबैको श्रेय हामी बुबालाई दिन चाहन्छौ । सायद हिलेको त्यो मिठाई दोकानमा बुबालाई मैले बिदेश जान्छु भन्दा ‘ठिकै छ जाऊ न त राम्रो मेनपावर बिश्वासिलो एजेन्ट खोज अथवा वल्लोपल्लो तल्लोमाथ्लो कसैलाई भिजा पठाईदिनु भन’ भन्नुभएको भए सायद जीवनले फरक मोड अवश्य लिन्थ्यो ।त्यसैले बुबाको सोच, चेतना र सपनाले नै आज हामी यहाँ छौ ।बिदेशिने कतिको बाध्यता होला कतिपयका रहर पनि छन् । कति पारिवारिक दवाब र प्रभावमा पनि बिदेशिने छन् । म कामना गर्दछु जो बाध्यताले बिदेशिएका छन् , तिनलाई नेपालमै रोजगारीको वातावरण बनोस् । जो आफ्ना खेतबारी बन्जर बनाएर बिदेशिदै छन् , तिनलाई हाम्रै बुबाले जस्तो सबैका बुबाले संघर्ष गर्न प्रेरित गरुन् । माया गरुन् बिश्वास गरुन् साथ दिउन् ।

(लेखक बिओपि केचनाका सशस्त्र प्रहरी निरीक्षक हुन्)

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्