झापा, भदौ १६। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वार बन्न झापाबाट आवेदकको ओईरो लागेको छ ।

उम्मेदवार बन्न खुला आव्हान गरेको राष्ट्रिय स्वतन्त्र पार्टीमा झापाबाट आवेदन दिनेको संख्या उच्च बनेको हो । प्रदेशसभा निर्वाचनमा भाग नलिने निर्णय गरेको सो पार्टीले प्रतिनिधिसभाका सबै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाउने जनाएको छ ।

त्यस्तै समानुपातिकतर्फका उम्मेदवारका लागि पनि सो पार्टीले खुला आव्हान गरेको छ । प्रत्यक्षतर्फ झापाका पाँच निर्वाचन क्षेत्रबाट उम्मेद्वार बन्न १९ जनाको आवेदन परेको छ । समानुपातिकतर्फ २० जनाको उम्मेदवारी परेको पार्टीका जिल्ला सभापति उमेश खरेलले जानकारी दिए ।

रास्वपाले समानुपातिकतर्फ भदौ २१ गते र प्रत्यक्षतर्फ असोज ७ गतेसम्म उम्मेदवारी लिने समय छुट्याएको छ । क–कसले उम्मेद्वारी दिए भन्ने बिषय भने पछि सार्वजनिक गरिने उनले बताए । यद्यपि पार्टीका प्रदेश र जिल्लास्तरका नेताहरुले उम्मेदवार बन्न आवेदन भरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले असोज १४ गते मात्र आफ्ना उम्मेदवार छनोट गर्ने गरी तालिका बनाएको छ । उम्मेदवार तय भएपछि मात्र सो पार्टीले चुनावी अभियानलाई तीब्रता दिने जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्