झापा, भदौ १६ । झापाको बिर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालमा पेट सिटी स्क्यान सेवा सुरु भएको छ ।

योसँगै अस्पतालको सेटअपमा पेट सिटी स्क्यान सेवा सुरु गर्ने पूर्वाञ्चल क्यान्सर अस्पताल निजी क्षेत्रको पहिलो अस्पताल बनेको छ ।

बिहीबार मुखको क्यान्सर भएका ५२ वर्षीय बिरामी नुर मोहम्मद अन्सारीको पेट सिटी स्क्यान गरेर सेवा सुरु गरिएको हो । अस्पतालले २ वर्षअघि पेट सिटी स्क्यान ल्याएको भए पनि सरकारको नीतिका कारण सुरु हुन सकेको थिएन । अब भने दुई वर्षपछि भए पनि सेवा सुरु गर्न सकेकोमा अस्पतालका मेडिकल निर्देशक डा. विरेन्द्र यादवले खुशी व्यक्त गरे । उनले भने, ‘अहिलेसम्म धेरै बिरामीले सेवा लिन पाउँथे तर पनि केही छैन ढिलै भए पनि सेवा सुरु गर्न सक्यौं । यो क्यान्सरका बिरामी र हामी सबैका लागी खुशीको कुरा हो ।’
उनले पेट सिटी स्क्यान मेशिन भएर पनि बिरामीलाई अन्त पठाउन पर्दा निकै नराम्रो लाग्ने गरेको भन्दै अब भने आफ्नै अस्पतालमा सो सेवा दिन पाउँदा खुशी लागेको बताए । उनले आफूहरुले अबदेखि यो सेवा नियमित गर्ने र दैनिक ८ देखि १० जनाको पेट सिटी गर्न सकिने जनाए ।
पेटको सिटी स्क्यानमा प्रयोग हुने आइसोटप नेपालमा नबन्ने कारणले भारतबाट झिकाउन पर्ने र सो आइसोटप जतिसक्दो छिटो प्रयोग गर्नुपर्ने हुन्छ । समयसीमाका आधारमा गुणस्तर निर्धारण हुने सो आइसोटप बागडोग्रा जुन झापाबाट आधा घण्टाका दूरीमा रहेको एयरपोर्टबाट सिधै अस्पताल ल्याएर प्रयोग गर्ने हुँदा यसको गुणस्तर अत्यन्त बढी हुने यादवले बताए । भारतको बागडोग्रा एयरपोर्टबाट अस्पतालनजिक भएका कारण पनि यसको प्रयोगमा सजिलो हुने र बढी रिजल्ट दिनेमा आफू ढुक्क रहेको उनले बताए । उनले आफूहरुले बिरामीको आर्थिक अवस्थालाई मध्यनजर गर्दै अन्य स्थानको भन्दा केही सस्तो पनि गरेको समेत जानकारी दिए ।

यसैगरी अस्पतालका न्युक्लियर मेडिसिन विभागका प्रमुख डा. रितेश उपाध्यायले क्यान्सरका बिरामीका लागि पेट सिटी स्क्यान नभई नहुने परीक्षण भएको बताए । उनले क्यान्सरको रोग पत्ता लगाउन, कुन स्टेजमा छ र उपचारले कसरी काम गरिरहेको छ भन्ने जानकारी लिनका लागि यो सेवा नभई नहुने बताए । अब यो सेवा आएपछि आफनो अस्पतालमा कुनै पनि बिरामीलाई उपचारका लागि बाहिर पठाउन नपर्ने उनले जिकीर गरे । डा. उपाध्यायले पेट सिटी स्क्यानले क्यान्सर बिरामीको उपचारमा निकै सहयोगी सिद्ध हुने जिकीर गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्