बिर्तामोड,भदौ १८ । नेपाली कांग्रेस झापाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिफारिस भइआएका आकांक्षी उम्मेद्वारहरुले त्योभन्दा तल्लो निकायमा आगामी निर्वाचनहरुमा उम्मेद्वार बन्न नपाउने गरी विधि बनाउन प्रदेश र केन्द्रीय समितिमा सिफारिस गर्ने निर्णय गरेको छ ।

पार्टी सभापति देउकुमार थेवेको सभापतित्वमा शनिवार बसेको बैठकले मातहत निकायबाट सिफारिस भइआएका प्रत्यक्ष र समानुपातिक उम्मेद्वारको नामावली उपल्लो निकायमा सिफारिस गर्ने निर्णय गरेको हो ।

संघ र प्रदेशमा क्षेत्रीय समितिबाट प्रत्यक्ष र समानुपातिकतर्फ सिफारिस भइआएका आकांक्षी उम्मेद्वारहरुले आफ्नो नाम फिर्ता लिन चाहेमा नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा २०७९ भदौ १९ गते १ बजेभित्र आफै उपस्थित भई निवेदनमार्फत नाम फिर्ता लिन सकिने समय पनि बैठकले तोकेको छ ।

स्थानीय तहको चुनावमा वडा सदस्यको उम्मेद्वार बनी निर्वाचनमा पराजित भएका र पहिलोपटक क्रियाशील सदस्यता प्राप्त गरेका समेतले सांसद सदस्यका लागि आकांक्षी उम्मेद्वारको समेत नाम सिफारिस भएपछि जिल्ला कार्यसमितिको बैठकले तल्लो तहमा पुनः उम्मेद्वार बन्न नपाउने गरी प्रदेश र केन्द्रमा सिफारिस गर्ने निर्णय गर्नुपरेको पार्टी सचिव कृष्ण हुमागाईले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्