झापा, भदौ १८ । नेपाली कांग्रेस प्रदेश नम्बर १ का सभापति उद्धव थापा प्रत्यक्ष निर्वाचनमा नउठ्ने भएका छन् ।

उनी झापा क्षेत्र नं २ मा समानुपातिकतर्फ सिफारिस भएका छन् । उनीसहित १५ जनाको नाम कांग्रेसको २ नं क्षेत्रीय समितिले समानुपातिकमा सिफारिस गरेको हो ।

आफू संघ र प्रदेश दुवैमा प्रत्यक्षतर्फको उम्मेद्वार नहुने स्पष्ट पार्दै उनले युवा पुस्ता र नयाँ अनुहारलाई अगाडि बढाउन इच्छुक रहेको बताएका छन् । नेपाली कांग्रेस झापाको शनिवार सम्पन्न बैठकलाई सम्बोधन गर्दै नेता थापाले समानुपातिकतर्फको उम्मेद्वार बनी १ नम्बर प्रदेशका १४ वटै जिल्लाको चुनाव प्रचारमा खटेर पार्टी र गठबन्धनका उम्मेद्वारलाई विजयी गराउनुपर्ने प्रदेश सभापतिको दायित्व आफूले निर्वाह गर्ने बताए ।उनले पार्टीको नीति निर्णय र पार्टी हितविपरित सार्वजनिक अभिब्यक्ति नदिन कार्यकर्तालाई निर्देशन दिएका छन् । थापाले केन्द्रले गठबन्धन गर्ने निर्णय गरिसकेको अवस्थामा पाँचदलीय गठबन्धनलाई बलियो बनाउँदै संविधान र लोकतन्त्र रक्षाका निमित्त सबै कार्यकर्ताहरु एकताबद्ध भई चुनावी महाअभियानमा जुट्न अपिल गरे ।

अघिल्लो संसदीय निर्वाचनमा थापा २ नं क्षेत्रबाट उम्मेदवार बनेका थिए । त्यस निर्वाचनमा एमालेकी पवित्रा निरौला खरेल निर्वाचित भएकी थिइन् । विजयी निरौलाले ४५ हजार ८ सय १७ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका थापाले ३२ हजार ५० मत प्राप्त गरेका थिए ।

कार्यक्रममा केन्द्रीय सदस्य सुशिला ढकाल आचार्य, गोमा भट्टराई, प्रदेश प्रतिनिधि हरिकला श्रेष्ठ र इन्दिरा अधिकारीले उम्मेद्वार बन्नका लागि पार्टीले निश्चित मापदण्ड बनाएर अघि बढ्नुपर्नेमा जोड दिदै उम्मेद्वारी सिफारिस प्रक्रियालाई हदैसम्म खुल्ला गर्दा केही समस्याहरु आएको बताए । प्रदेशसभा र क्षेत्रबाट सिफारिस भइआएका नामावली क्षेत्रीय समितिका सभापति तथा प्रतिनिधिहरु हरिकुमार बुढाथोकी, खगेन्द्र मैनाली, गणेश पोखरेल, जयनारायण शाह र ढुण्डिराज भण्डारीले बैठकमा प्रस्तुत गरेका थिए ।

पार्टी सभापति देउकुमार थेवे र उपसभापति केशवराज पाण्डेको आलोपालो सभापतित्वमा सम्पन्न बैठकको सञ्चालन सचिव कृष्ण हुमागाईले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्