बिर्तामोड, भदौ १८ । नारी सञ्चार गृह झापाले दुईवटा पुरस्कार घोषणा गरेको छ ।

सञ्चार गृहले एकलाख ११ हजार १११ रुपैयाँ राशिको नारी सञ्चार उत्कृष्ट पत्रकारिता पुरस्कार घोषणा गरेको हो ।

झापामा क्रियाशील महिलालाई पुरस्कृत गर्नेगरी घोषणा गरिएको यो पुरस्कार हरेक दुई वर्षमा वितरण हुनेछ । नारी सञ्चार गृहकी अध्यक्ष भीमा शिवाकोटीले पुरस्कार घोषणा गर्दै यसलाई प्रादेशिक तहमा पनि विस्तार गरिने बताइन् ।
संस्थाको ११ औँ स्थापना दिवसको अवसरमा शनिवार बिर्तामोडमा आयोजित कार्यक्रमका बीच पुरस्कार घोषणा गरिएको हो । त्यस्तै सञ्चार गृहले २५,५०५ रुपैयाँ राशिको नारी सञ्चार युवा पत्रकारिता पुरस्कार पनि स्थापना गरेको छ । महिलाहरुलाई पत्रकारितामा सिक्न, टिक्न र बिक्न सजिलो होस् भन्ने उद्देश्यले यो पुरस्कार स्थापना गरिएको अध्यक्ष शिवाकोटीले बताइन् । नारी सञ्चार गृहले स्थापना गरेको यो पुरस्कार सम्भवतः मोफसलमा सर्वाधिक राशिको पुरस्कार हो । प्रदेश सरकारका यातायात तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरे र नेपाल पत्रकार महासंघ प्रदेश समितिकी उपाध्यक्ष हिमा चेम्जोङको आतिथ्यका बीच घोषणा गरिएको पुरस्कार आगामी अधिवेशनका अवसरमा वितरण गर्ने जनाइएको छ ।नारी सञ्चार गृहले स्थापना गरेको अक्षयकोषको व्याजले ती पुरस्कार प्रदान गर्ने जनाइएको छ । अक्षय कोषमा २५ लाख रुपैयाँ नाघिसकेको छ ।

यसैबीच बिर्तामोड नगरपालिकामा कार्यरत कर्मचारी कल्पना मैनालीले नारी सञ्चार गृह झापालाई पाँच हजार रुपैयाँ हस्तान्तरण गरेकी हुन् ।
महिला पत्रकारको सीप तथा क्षमता अभिवृद्धिका लागि नारी सञ्चार गृहले स्थापना गरेको अक्षय कोषमा आफूले सहयोग गरेको मैनालीले बताइन् ।

स्थापना दिवसको अवसरमा नारी सञ्चार गृह झापाले मर्यादित पत्रकारिताका लागि भूमिका, सुझाव र प्रतिवद्धता विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । प्रदेश सरकारका यातायात तथा सञ्चारमन्त्री घिमिरेले कार्यकमको उद्घाटन गरेका थिए । नारी सञ्चार गृहकी अध्यक्ष शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव भूमिका सुब्बाले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्