झापा , भदौ १९ । झापाको बिर्तामोड– ४ आनन्दगञ्जमा रहेको रुपेश्वर शिव पाञ्चायन मन्दिरमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

रुपेश्वर शिव पाञ्चायन मन्दिरको आयोजना तथा रबिन आयुर्बेदिक फार्मेसी बिर्तामोडको प्राविधिक सहयोगमा भएको स्वास्थ्य शिविरमा पायल्स, महिनावारीको समस्या, महिलाहरुको तल्लो पेटको समस्या, स्तनको गाठागुठी, निसन्तानको समस्या, बाथ तथा नसाका रोगगरी २ सयभन्दा बढी महिला पुरुषलाई आयुर्वेद चिकित्सक डा. अहिल्या मैनालीले परीक्षण गरेकी थिइन् ।

सिद्ध फर्मुलेसन, सगरमाथा आयुर्वेदिक औषधी उद्योग, भास्कर हर्वास्यूटिकल्स, अष्टाङ्ग आयुर्वेदिक औषधी उद्योग , एमिल फर्मा , ओजोस हर्वास्यूटिकल्स, गोरखनाथ हर्वास्यूटिकल्स, गोरखा आयुर्वेदिक औषधी उद्योग, फ्लुर हिमालयन, ग्रेस हर्वास्यूटिकल्सलगायतका औषधी उद्योगहरुले निःशुल्क आयुर्वेदिक औषधी उपलब्ध गराएका थिए । शिव पाञ्चायन मन्दिरका अध्यक्ष भक्ति प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा संबिधानसभा सदस्य सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्यता रहेको थियो ।

दुरदराजमा रहेका अति बिपन्न परिवारका मानिसहरु ठुला अस्पताल तथा क्लिनिकमा उपचार गर्न नसक्ने भएकाले यस्ता शिविरले समाजमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने शिवाकोटीले बताए । शिवाकोटीले सांसद कोषबाट १ लाख रुपैयाँ सो मन्दिर निर्माणका लागि सहयोग गरेका थिए । रबिन आयुर्वेदिक फार्मेसीका सञ्चालक रणदेव हजामले सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्ष झापाका बिभिन्न ठाउँहरुमा स्वास्थ्य शिविर आयोजना गर्ने गरिएको बताए ।

शिविरमा समाजसेवी हेमकुमार खड्का, सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष उत्तम खनाल, उपाध्यक्ष सञ्जिव चापागाई, मन्दिर ब्यवस्थापन समितिका सचिव राजकुमार प्रसाईको आर्थिक सहयोग रहेको हजामले बताए । कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुमार भट्टराई, बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, बिर्तामोड खानेपानी संस्थाका सचिव मेघराज बास्तोला, शिक्षिका सरिता मगर, आशा परियार, प्रेम भट्टराई, उर्मिला प्रसाई, स्वास्थ्यकर्मीहरु कुशहरि धमला, रामनारायण मण्डल, सुशिल राजवंशी , युवराज ओलीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन चन्द्र खरेलले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्