दमक, भदौ २० । दमक वडा नम्बर १० मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको जग्गा व्यवस्थापनका लागि सोमवारबाट जग्गाको नापजाँच सुरु भएको छ ।

वडा नम्बर १० का भूमिहीन दलित १३, भूमिहीन सुकुम्बासी १६० र अव्यवस्थित बसोबासीहरु ३६६ गरि ५ सय ३९ जनालाई यसअघि जग्गाको निस्सा वितरण गरिएको थियो । उनीहरुको जग्गादाबीमा नियम अनुसार सूचना निकाल्दा कसैबाट पनि दाबी बिरोध नपरेकाले वडा सहजीकरण समितिले नगरपालिकामा सिफारिस गरेको वडा अध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिए ।
वडा सहजीकरण समितिबाट सिफारिस भई आएकाहरुको नगर सहजीकरण समितिले सिफारिस गरेर भूमि आयोगमा बुझाएको राष्ट्रिय भूमि आयोग दमक सेवाकेन्द्र प्रमुख डम्बर बरालले जानकारी दिए ।
सोमवार वडा नम्बर १० नलबारी क्षेत्रका जग्गाको ब्लक निकाल्ने र कित्ताकाट गर्ने काम सुरु गरिएको उनले बताए । अब कित्ताकाट गरी जग्गा छुट्याएर भूमि आयोगलाई सिफारिस गर्ने र भूमि आयोगले धनीपुर्जा वितरण गर्ने बरालले बताए । निस्सा प्राप्त गरेका भूमिहीनहरुले जग्गाको धनीपुर्जा पाउने चरणमा पुगेको उनले जानकारी दिए ।