बितामोड, भदौ २१ । बिर्तामोड १० स्थित विराट आधारभूत विद्यालयका प्रधानाध्यापक बद्रीप्रसाद बाँस्कोटालाई कारवाही गर्न बिर्तामोड नगरपालिकाले शिक्षा विकास समन्वय इकाईलाई पत्राचार गरेको छ ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईसहितको नगरपालिकाको बैठकले निर्णय गरी उक्त निर्णयसहितको पत्र शिक्षा विकास समन्वय इकाई भद्रपुरलाई पठाएको हो। पत्रमा सामाजिक तथा अन्तिम लेखा परीक्षण नगराएको उल्लेख छ । पत्र अनुसार विद्यालयका प्रअ बाँस्कोटाले २०७६ ÷०७७ र २०७७÷२०७८ को सामाजिक परीक्षण तथा अन्तिम लेखा परीक्षण गराई नगरपालिकामा पेस गर्नुपर्नेमा सो कार्य नगरेकोले विद्यालयको आर्थिक अनुशासन कायम नभएको र पटकपटक मौखिक तथा लिखित अनुरोध गर्दा समेत अटेर गरेकोले बैठक बसी संघीय शिक्षा ऐनबमोजिम आवश्यक कारबाही गर्नको लागि अनुरोध गरिएको छ । पत्रको बोधार्थ विराट आधारभूत विद्यालयलाई दिइएको छ ।

भदौ १६ गते नगरपालिकाको बैठक बसेर उक्त निर्णय गरिएको बिर्तामोड नगरपालिका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले बताए । नगरपालिकालाई शिक्षक कारवाही गर्ने अधिकार नभएकोले कारवाहीको लागि इकाईलाई अनुरोध गरिएको र प्रअ बाँस्कोटालाई पटक पटक समस्या समाधान गर्न आग्रह गर्दा समेत अटेर गरेकाले बाध्य भएर इकाईलाई कारबाही गर्न पत्राचार गर्नु परेको उनले बताए । यसअघि भदौ १७ गते शुक्रवार बसेको विद्यालय ब्यवस्थापन समितिको बैठकले बैंक खाता संचालन गर्ने,प्रअको जिम्मामा रहेको सामग्री विद्यालय संचालन गर्न कठिनाई भएकोले फिर्ता गराई माग्ने र विद्यालयको लेखा परीक्षण गराउन समय दिँदा समेत अटेर गरेकाले कारवाही गर्न सिफारिस गर्ने निर्णय गरिसकेको विद्यालय ब्यवस्थापन समिति सदस्य पुनम प्रसाईले बताए।

गत असार ११ गते बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति बनेको थियो । सो समितिले छानबिन गर्दा १९ लाख ८५ हजार ३८० रुपैयाँ प्रअ बाँस्कोटाको जिम्मामा देखिएको छ । उक्त बिषयमा प्रअ बाँस्कोटासंग थप जानकारी लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्